
भारतीयसँगै नेपाली मुद्राको अवमूल्यनका कारण पछिल्लो समय डलर निकै महंगो पर्न थालेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मूल्यअनुसार अहिले १ अमेरिकी डलर खरिद गर्न नेपाली मुद्रा १२७ रुपैयाँ ७६ पैसा खर्च गर्नुपर्छ ।
डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदै जाँदा नेपालमा विदेशी मुद्राको सञ्चिति घटेको अवस्था छ । निर्यातको तुलनामा आयात निकै बढी हुँदा डलर आम्दानीभन्दा खर्च उच्च छ ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रामा प्रत्यक्ष असर परेको बताए ।
‘नेपाली रुपैयाँ भारतीय मुद्रासँग आधारित रहने गरेको छ । भारु र नेरुबीच स्थिर विनिमय दर हुँदा भारुको अवमूल्यनले नेपाली मुद्रा समेत प्रत्यक्ष प्रभावित हुन्छ,’ श्रेष्ठले भने ।
उनले थपे, ‘अमेरिकाले मौद्रिक नीतिमा गरेको कडाइ, संघीय रिजर्भ कोषको रकम ०.५ बाट बढाएर २.०५ प्रतिशत पुर्याएको आदि कारणले गर्दा अमेरिकामा ब्याजदर बढी पाइने अवस्था छ । सोही कारण भारतबाट पूँजी पलायन समेत हुने गरेको छ ।’
भारतमा समेत डलरको सञ्चिति घट्दो अवस्थामा रहेको उनले बताए । भारतीय मुद्राको अवमूल्यन हुँदा नेपाली मुद्रा पनि सोही दरमा अवमूल्यन हुने गरेको छ ।
विदेशी ऋणका आयोजनाको लागत बढ्यो
डलरको मूल्य बढेकै कारण नेपालमा विदेशी ऋणका आयोजनाको लागत बढिरहेको छ । अर्थ मन्त्रालयका अनुसार प्रति डलर ७० रुपैयाँ हुँदा सटही दर हुँदा सम्झौता भएका आयोजना अहिलेसम्म सकिएका छैनन् ।
आयोजनाको निर्माण समयमा नै गर्न नसक्दा बर्सेनि डलरको मूल्य बढेकै कारण आयोजनाको लागत बढिरहेको अर्थ मन्त्रालयअन्तर्गत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव डिल्लीराज आचार्यले बताए ।
उनले भने ‘डलरको मूल्य बढ्दै जाँदा आयोजनाको लागत पनि बढ्ने हुन्छ ।’
एक दशक अगाडि सम्झौता भएका आयोजना अहिले पनि सम्पन्न भएका छैनन् । सटही दर ७०/८० हुँदा सम्झौता भए पनि अहिले १२८ पुग्दा त्यही अनुपातमा खर्च बढेको छ ।
डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुँदा कति लागत बढ्यो भन्ने विषयमा यकिन तथ्यांक तयार भइनसकेको आचार्यले बताए ।
विद्युत् प्राधिकरणलाई गलपासो बन्दै डलरको पीपीए
नेपाल विद्युत् प्राधिकरणले विदेशी लगानीका आयोजनालाई डलरमै भुक्तानी गर्ने गरी विद्युत् व्यापार सम्झौता (पीपीए) गर्ने गरेको छ ।
डलरमा गरिने यस्तो पीपीए नेपाली मुद्राको अवमूल्यनका कारण प्राधिकरणलाई गलपासो बनेको छ ।
प्राधिकरणले दुई दशक अगाडिदेखि नै डलरमा पीपीए गर्ने गरेको हो । यस्तो आयोजनालाई लामो समयसम्म डलरमै भुक्तानी गर्नुपर्ने हुँदा नेपाली मुद्रा अवमूल्यन हुँदा प्राधिकरणलाई विद्युत् खरिद मूल्य उच्च पर्ने गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।
भट्टराइले भने, ‘वर्षौंअगाडि भएको सम्झौताअनुसार डलरमै भुक्तानी गर्ने भनिएको आयोजनाको रकम अहिले पनि सोहीअनुसार भुक्तानी गर्नुपर्ने हुन्छ । एक दशक अगाडिको तुलनामा अहिलेको भुक्तानी निकै बढेको छ । यो प्राधिकरणको बाध्यता पनि हो ।’
विद्युत् प्राधिकरणले डलरमा पीपीए गरेको पहिलो आयोजना ६० मेगावाटको खिम्ती (१ माघ २०५२)मा हो । त्यसपछि एकपछि डलरमा पीपीए गरिएका आयोजना एक दर्जन पुगेका छन् ।
प्राधिकरणले माथिल्लो भोटेकोसी (४५ मेगावाट, तल्लो सोलु (८२ मेगावाट), माथिल्लो मर्स्याङ्दी ए (५० मेगावाट), कोबेली ए (३७.६ मेगावाट)को डलरमा पीपीए गरेको छ । रसुवा–भोटेकोसी (१२० मेगावाट) र माथिल्लो त्रिशुली ए (२१६ मेगावाट) जलविद्युत् आयोजनाको पनि डलरमै पीपीए भएको छ ।
यस्तो पीपीएबाट उक्त आयोजनाले दिने बिजुलीबापतको कबोल गरेको रकम डलरमा नै भुक्तानी गर्नुपर्छ । प्राधिकरणले प्रतियुनिट ८ रुपैयाँ ३० पैसा औसतमा आयोजनालाई दिने गरेको छ ।
डलरमा पीपीए गर्दा विदेशी मुद्रा विनिमय जोखिम बेहोर्न हेजिङ फन्ड नामक कोष स्थापना गर्ने भनिएको छ । नेपाली मुद्रा अवमूल्यनका कारण प्राधिकरणलाई अतिरिक्त व्ययभार पर्ने अवस्थामा यस्तो कोषबाट रकम व्यहोर्ने र प्राधिकरणलाई वित्तीय जोखिम कम गर्ने भनिएको छ । तर, अहिलेसम्म हेजिङ फन्ड स्थापना भएको छैन ।
डलर बढ्दाका बेफाइदा
नेपालले गर्ने वैदेशिक व्यापारमा डलरको प्रयोग हुन्छ । वस्तु तथा सेवा आयात गर्दा डलरमा खरिद गर्नुपर्छ । नेपालमा वार्षिक १९ खर्ब २० अर्ब रुपैयाँको आयात हुन थालेको छ । यस्तो आयात गर्न नेपाली मुद्रा सटही गरेर डलरमा भुक्तानी गर्नुपर्छ ।
नेपालको निर्यातको तुलनामा ठूलो हिस्सा आयातमै खर्च हुने गरेको छ । आयात मात्रै बढेको र निर्यातको हिस्सा न्यून भएको हुँदा आयातमै धेरै विदेशी मुद्रा खर्च हुने अवस्था छ । आयातको तुलनामा निर्यात बढाउने वा विदेशी मुद्रा आर्जन हुने पर्यटन क्षेत्रबाट आय बढाउने आधार देशले तय गर्नुपर्ने विज्ञहरू बताउँछन् ।
पछिल्लो समय विदेशी मुद्राको सञ्चिति घट्नुमा पनि नेपाली मुद्राको अवमूल्यन एक कारण हो । डलर महंगो हुँदा आयातमा हुने खर्च बढिरहेको छ । जसले व्यापार घाटा बढाउन र अर्थतन्त्रलाई नै संकटमा पार्न भूमिका खेलिरहेको छ ।
डलरको मूल्य बढ्दा नेपालले विभिन्न देशबाट लिएको ऋणको साँवा ब्याज भुक्तानी गर्दासमेत विदेशी मुद्रा बढी खर्च हुन्छ । नेपालले हालसम्म ९ खर्ब ७६ अर्ब रुपैयाँ वैदेशिक ऋण लिएको छ । यस्तो ऋणका लागि वार्षिक करीब १ अर्ब डलर सावाँ/ ब्याजका लागि मात्रै भुक्तानी गर्नुपर्ने हुन्छ ।
यस्तो बेला बाहिरबाट डलर आम्दानी बढाउने र भुक्तानी कम गरेर विदेशी मुद्रा सञ्चिति बढाउनुपर्ने चुनौति रहेको राष्ट्र बैैंकको विदेशी विनिमय विभागका अधिकारीहरू बताउँछन् ।
सीमित क्षेत्रमा फाइदा
डलरको मूल्य बढ्दा नेपालमा विदेशी मुद्रा भित्र्याउने निकायलाई भने फाइदा हुन्छ । नेपालमा रहेका विभिन्न कम्पनीमार्फत आउने रेमिट्यान्समा पनि यसको सकारात्मक प्रभाव परिरहेको छ ।
रेमिटेन्स पठाउँदा नेपाली रुपैयाँमा पाउनेले बढी पाउँछन् । यस्तो रेमिट्यान्स रकम गत आर्थिक वर्ष २०७८/८९ को जेठसम्ममा ९ खर्ब ४ अर्ब १८ करोड रुपैयाँ नेपाल भित्रिएको छ ।
यस्तो रकम गत वर्षको सोही अवधिसम्मको तुलनामा ३.८ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । अमेरिकी डलरमा रेमिट्यान्स आय १.५ प्रतिशतले बढेर ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो डलरमा रेमिट्यान्स आय १०.५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
डलरमा निर्यात गर्नेलाई पनि फाइदा छ । नेपालले गत वर्ष २ खर्ब रुपैयाँको निर्यात गरेको थियो, जुन आयातको तुलनामा नगन्य हो ।
यस्तो बेला पर्यटन क्षेत्रबाट हुने आम्दानी पनि बढ्ने हुन्छ । नेपालमा विदेशी पर्यटक आउँदा डलर बोकेर आउने र डलर कार्डबाट हुने खर्चका कारण पनि विदेशी मुद्रा बढाउन सहयोग गर्छ ।
गत वर्ष नेपालमा पर्यटन क्षेत्रबाट भएको आम्दानी ७ अर्ब रुपैयाँबराबर मात्रै छ । कोरोना महामारीपछि घटेको यस्तो आय ७० अर्बभन्दा बढी पुगिसकेको राष्ट्र बैंकले जारी गरेको जेठसम्मको तथ्यांकले देखाएको छ ।