
महोत्तरीको जलेश्वरस्थित लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालयमा २ करोड बढी रुपैयाँको लागतमा ‘नमूना विद्यालय’को भवन निर्माण हुने भएको छ ।
जलेश्वर नगरपालिका–२ मा अवस्थित सो विद्यालय भवन शिक्षा मन्त्रालयको २ करोड ८७ लाख रुपैयाँ बजेटमध्ये २ करोड १५ लाखमा ‘बाबा कर्मा जेभी जलेश्वरले’ बनाउन थालेको हो ।
जलेश्वर नगर प्रमुख सुरेश साह सोनारले भवनको शिलान्यास गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरुणकुमार दाहालका अनुसार २ तल्ले भवनमा ८ कोठा हुनेछन् । विक्रम संवत् २००८ सालमा स्थापना भएको विद्यालयको भवन जीर्ण भएको थियो ।
जीर्ण भवनमै पठनपाठन हुँदै आएको प्रधानाध्यपक सञ्जीवकुमार झाले बताए । विद्यालयमा बाल कक्षादेखि १२ कक्षासम्म पठनपाठन हुँदै आएको छ ।