
स्याङ्जामा ६ हजार ४०० नयाँ मतदाता थपिएका छन् ।
गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि शुरू भएको मतदाता नामावली संकलनमा ती मतदाता थपिएका हुन् ।
सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै साउन १९ गतेसम्ममा नयाँ मतदाता थपिएका हुन् ।
साउन १९ गतेपछि भने निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए ।
जिल्लाका ११ स्थानीय तहअन्तर्गत ९७ वटा वडाका सेवाग्राहीलाई पायक पर्ने गरी ३ स्थानमा फोटो सहितको मतदाता नामावली संकलन गरिएको उनले बताए ।
स्याङ्जामा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय वालिङमा नियमित रूपमा फोटो सहितको मतदाता नामावली संकलन गरिएको थियो ।
‘मतदाता नामावलीमा नाम लेखाउनका लागि दैनिक ३ वटै कार्यालयमा सेवाग्राहीको भीड हुने गथ्र्यो,’ उनले भने, ‘सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै अब अरु तयारीमा लाग्नुपर्ने भएकाले मतदाता नामावली संकलन कार्य स्थगित गरिएको छ ।’