
पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ६ हजार ७०५ जनामा गरिएको परीक्षणमध्ये ६६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ पुगेको छ । काठमाडौं उपत्यकामा ३०० जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा ५३, भक्तपुर १८ र काठमाडौंमा २२९ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
बुधवार कोरोना भाइरसबाट निको भई ४१४ जना घर फर्किएका छन् । साउन १ गतेको संक्रमण दर ४ प्रतिशत रहेकोमा बुधवार १३ प्रतिशत पुगेको अधिकारीले बताए ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको निधन भएको छ । हालसम्म ११ हजार ९७७ जनाको संक्रमणबाट निधन भएको छ ।
५०० भन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर तथा २०० भन्दा बढी संक्रमित भएको जिल्ला मोरङ रहेको छ । संक्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट र हुम्ला छन् ।
हाल होम आइसोलेसनमा ५ हजार ५७१ जना, संस्थागत आइसोलेसनमा २१४, सघन उपचार कक्ष (आईसीयू) मा ६४ र भेन्टिलेटरमा ७ जनाको उपचार भइरहेको छ ।
विगत २४ घण्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।