
नेपालको संसदीय इतिहासमा विजयकुमार गच्छदारको नाम र बदनाम दुवै छ । २०४८ सालपछिका सबै चुनावमा अविजित रहेका गच्छदार नेपालमा सबैभन्दा धेरै मन्त्री बन्ने नेता हुन् ।
३० वर्षको अवधिमा गच्छदार पाँचपटक उपप्रधानमन्त्री र १३ पटक मन्त्री बने । कांग्रेसबाहेक अन्य दलमा धेरै अवसर पाएको नेतालाई ‘गच्छदार’ भन्ने गलत विम्ब स्थापित भएको छ ।
राजाको प्रत्यक्ष शासनबाहेक २०४८ सालदेखि २०७४ सालसम्म उनी कुनै न कुनै हिसाबले सत्ताको नजिक रहे ।
आफूलाई ‘थारुको बच्चा’ भन्ने गच्छदार पछाडि पारिएको एउटा समुदायको तरमारा वर्गको रूपमा परिचित भए । थारु समुदाय भने गच्छदारलाई ‘अवसरवादी’ भन्छ ।
सत्ताका लागि दल विभाजन गर्नमा गच्छदार सधैँ अगुवा र उत्प्रेरक बन्ने गरेका छन् । कांग्रेस विभाजन भएर कांग्रेस प्रजातान्त्रिक गठन हुँदा होस कि फोरम विभाजन उनी हाँसीहाँसी पार्टी विभाजनमा तयार भए ।
२०५८ सालमा सरकारको नेतृत्व गरेका शेरबहादुर देउवाले पार्टीभित्र विवाद बढेपछि कांग्रेसको विशेष महाधिवेशन बोलाएका थिए, अहिले संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ।
तत्कालीन अवस्थामा पनि प्रधानमन्त्री रहेका देउवाले त्यही महाधिवेशनबाट गिरिजाप्रसाद कोइरालालाई सभापतिबाट निष्कासन गरेको घोषणा गरे ।
कांग्रेस विभाजनका मुख्य हर्ताकर्ता रहेका गच्छदारलाई पत्रकारहरूले कांग्रेस विधानको कुन धारामा टेकेर कोइरालालाई सभापतिबाट निष्कासन गर्नुभयो भनेर सोधेका थिए ।
गच्छदारले जवाफ दिए, यहाँ खोलो नै बगेको देख्नुभएन, के धाराको कुरा गर्नुहुन्छ ?
सत्ता र शक्तिमा भएपछि नियम, कानून उल्लंघन गर्ने होडमा गच्छदार कहिल्यै पछि परेनन् ।
पटक–पटक मन्त्री बनेर अकुत कमाएको भनेर गच्छदारमाथि आरोप लागेपनि उनले थुपारेको भनिएको गैरकानूनी सम्पत्ति अख्तियारले भेट्टाउन सकेन ।
समकालीन गोविन्दराज जोशी, खुमबहादुर खड्का र चिरञ्जीवी वाग्ले भ्रष्टाचारमा डामिँदा पनि चतुर गच्छदार फसेनन् । पछि नीतिगत भ्रष्टाचारसम्बन्धी मुद्दा उनले झेलिरहेका छन् ।
कांग्रेसमा आफ्नो उपादेयता सकिँदै गएको र मधेशमा क्षेत्रीय दलको उदय हुने संकेत देखेपछि गच्छदार २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रातारात मधेसी जनअधिकार फोरममा गए ।
एकपटक पनि चुनाव नलडेका उपेन्द्र यादवको कार्यकर्ता बन्न गच्छदार राजी भए ।
उपेन्द्र यादवको फोरममा घुसेर गच्छदारले आफ्नो राजनीति नवीकरण गरे । चुनाव जितेर फोरम संसदीय दलको नेता बने ।
रुक्मांगत कटुवाल काण्डमा जब माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्यो, गच्छदारले पनि कोल्टे फेरे ।
माधव नेपाल नेतृत्वको सरकारमा जान गच्छदारले चुनाव जितेको एक वर्ष नपुग्दै फोरम विभाजन गरे ।
त्यसपछि बनेका प्रायः सरकारमा उनी छुटेनन् । संविधान सभाको कालखण्डमा सरकार गठन विघटनको एउटा पात्रको रूपमा गच्छदार देखा परे ।
दोस्रो संविधानसभा निर्वाचनमा पनि गच्छदार लोकतान्त्रिक विम्ब जोडिएको फोरमबाट चुनाव जितेर संसद् भवनमा पुगे ।
पहिलो संविधानसभाको कालखण्डमा मन्त्री हुँदा निर्वाचन क्षेत्रमा बजेट खन्याएका गच्छदार दोस्रो संविधानसभा निर्वाचनमा पनि सहज ढंगले निर्वाचित भए । त्यसपछि पनि उनी सरकार गठन विघटनका पात्र बने । दोस्रो संविधान सभामा गच्छदारसँगै कमल थापा सत्ता गठन विघटनको अर्को पात्रको रूपमा आएका थिए ।
क्षेत्रीय र जातीय राजनीति प्रदूषित बनेपछि गच्छदार २०७४ सालको प्रतिनिधि सभा चुनावको पूर्वसन्ध्यामा फेरि कांग्रेस प्रवेश गरे । देशभर वामपन्थी गठबन्धनको आँधी आउँदा पनि गच्छदार भने जोगिए ।
एमालेकी भगवती चौधरीसँग झिनो मतले भएपनि चुनाव जितेर उनले ६ पटक चुनाव जित्ने कीर्तिमानी बनाए, देउवासँगै । २०४८ सालदेखि २०७४ सालसम्म अविजित रहनेमा देउवा र गच्छदार मात्र हुन् ।
गच्छदारको राजनीतिमा लागेको ग्रहण
पाँचदशक लामो राजनीतिक करिअरको अन्तिमतिर गच्छदारको राजनीतिक यात्रामा ग्रहण लाग्यो ।
बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना गर्न नीतिगत भ्रष्टाचार गरेको आरोपमा गच्छदारमाथि अख्तियारले मुद्दा चलायो ।
विशेष अदालतमा मुद्दा विचाराधीन रहेका कारण उनी यथास्थितिमा आगामी निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन् ।
पढ्नुहोस्, यो पनि :
परन्तु, गच्छदारले आशा भने मारेका छैनन् । अदालतबाट सफाइ पाएर आफू फेरि उम्मेदवार बन्ने विश्वास उनले निकटस्थ व्यक्त गरेका छन् ।
‘उम्मेदवारी मनोनयनअगावै सफाइ पाउँछु भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ, सुनसरी– ३ मा गच्छदार नै हाम्रो उम्मेदवार हो,’ नेपाली कांग्रेसका एक जिल्लास्तरीय नेताले लोकान्तरसँग भने ।
भ्रष्टाचार मुद्दामा भर्खरै राप्रपा नेता विक्रम पाण्डेले सफाइ पाएका छन् । २०७४ सालको चुनावमा प्रचण्डसँग चितवन ३ मा भिडेका पाण्डे फेरि पनि चुनाव लड्ने तरखरमा छन् ।
पाण्डेले जस्तै आफूले पनि सफाइ पाउने गच्छदारको दाबी छ ।
सिक्टा सिञ्चाइ आयोजनामा कमसल काम गरेर क्षति पुर्याएको भन्दै अख्तियारले विक्रम पाण्डेविरुद्ध मुद्दा चलाएको थियो ।
पाण्डेको मुद्दा र गच्छदारको मुद्दा फरक प्रकृतिको हो । परन्तु, गच्छदारले सफाइ पाउने आशा मारेका छैनन् ।
अख्तियारले मुद्दा दायर गरेपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा गच्छदारले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको गुनासो गरेका थिए ।
एक घण्टा लामो सम्बोधनमा उनले आफूमाथि कम्युनिस्ट सरकारले प्रतिशोध साँधेको गुनासो गरेका थिए । त्यो दिन उनले आँसु नै खसालेको बैठकमा सहभागी कांग्रेस नेताहरू बताउँछन् ।
अहिले उपसभामुख रहेकी पुष्पा भुसाललगायत कांग्रेस सांसदले संसद्मा पनि गच्छदारमाथि राजनीतिक पूर्वाग्रह राखेर मुद्दा लगाइएको बताएका थिए ।
संसदीय दलको उपनेता रहेका गच्छदार निलम्बित भएपछि कांग्रेसले अहिलेसम्म उपनेता चयन गरेको छैन ।
सुनसरी ३ मा को बन्ला गच्छदारको उत्तराधिकारी ?
देशका अन्य निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवारले मंसिर ४ गतेको चुनावका लागि तयारी र लबिङ शुरू गर्दा सुनसरी ३ मा कांग्रेसको अर्को उम्मेदवारको चर्चा पनि छैन ।
‘सालको रुखमुनि पिपल हुर्किन नसक्ने’ भन्दै गच्छदारको क्षेत्रमा अन्य कार्यकर्ताले चुनाव लड्ने भनेर अहिलेसम्म उल्लेख्य तयारी गरेका छैनन् ।
‘यहाँबाट विजय दाइ नै उम्मेदवार बन्ने हो, कथंकदाचित उहाँ हुनुभएन भने उहाँले अगाडि सारेको व्यक्ति नै उम्मेदवार बन्ने हो,’ कांग्रेस प्रदेश १ का एक प्रभावशाली नेताले भने ।
गच्छदारले अगाडि सार्ने व्यक्तिको बारेमा पनि कांग्रेसका नेताहरू प्रस्ट छैनन् ।
नेपाली कांग्रेसको गढ मानिने यो क्षेत्रमा गच्छदारले विकास आयोजना पार्ने गरेका थिए ।
भौतिक पूर्वाधार मन्त्री बनेको समयमा एउटै बजेटमा १४ वटासम्म पुलका लागि बजेट खन्याएका थिए ।
‘साम, दाम, दण्ड, भेद’ जे गरेर भए पनि चुनाव जित्ने गरेको गरेको आरोप उनीमाथि लाग्ने गरेको थियो ।
स्थानीय तह निर्वाचनको नतिजामा भने गच्छदारको क्षेत्रमा एमाले अगाडि छ । एमालेले ३५ हजार भोट पाउँदा कांग्रेसले ३३ ल्याएको छ ।
जसपाले ५ हजार ५ सय र माओवादीले ३ हजार ८ सय मत पाएका छन् । गच्छदारसँग दुईपटक चुनाव हारेकी भगवती चौधरीप्रति सहानुभूति बढेको एमाले नेताहरू बताउँछन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा गच्छदारले कांग्रेसका अगमलाल चौधरीलाई पराजित गरेका थिए ।
गच्छदारले २३ हजार ७ सय ६९ भोट पाउँदा चौधरीले १० हजार ८ सय ६ मत पाएका थिए ।
२०७० सालको संविधानसभा चुनावमा गच्छदारले १७ हजार ५ सय २४ मत पाउँदा एमालेकी भगवती चाैधरीले १७ हजार १६२ मत पाएकी थिइन् ।
२०७४ सालको चुनावमा गच्छदारले ३८ हजार ९ सय ७२ मत पाउँदा चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन् ।