
भाइ–बहिनीको सम्बन्ध सबैभन्दा अनौठो र अनमोल मानिन्छ । उनीहरूबीच जति झगडा हुन्छ, उनीहरूबीचको माया पनि उत्तिकै धेरै हुन्छ । भाइ–बहिनी एकले अर्काको खुट्टा पनि तान्छन् भने अरु कसैले केही भनेमा रक्षाकवच बनेर पनि उभिन्छन् ।
भाइ–बहिनी शब्द नै यस्तो हो, जसले सजिलै भावनात्मक सम्बन्धमा जोडिदिन्छ । यसका लागि रगतको नाता नै जोडिनुपर्ने जरुरी छैन । भाइ–बहिनी हरेक सम्बन्धभन्दा माथि हुन्छ ।
बलिवुडमा केही उदाहरणहरू छन्, जो रगतको सम्बन्धले भाइ–बहिनी होइनन् तर, उनीहरूबीच विशेष सम्बन्ध छ ।
आलिया भट्ट र पूजा भट्ट
बलिवुडको ए–लिस्ट अभिनेत्री आलिया भट्ट र उनकी दिदी पूजा भट्ट आपसमा नजिक छन् । उनीहरू सहदोर दिदी–बहिनी होइनन् । तर, उनीहरूबीच गहिरो सम्बन्ध छ । आलिया आफ्नी दिदी पूजाको सुझाव हरेक समय लिइरहेकी हुन्छिन् ।

अर्जुन कपुर–जान्ह्वी कपुर र खुशी कपुर
बलिवुड अभिनेता अर्जुन कपुरको आफ्नै बहिनी अंशुला कपुर हुन् । तर, उनको दुई सौतेला बहिनीहरू पनि छन्, जान्ह्वी र खुशी कपुर । उनीहरूबीच गहिरो सम्बन्ध छ । खासगरी अभिनेत्री श्रीदेवीको मृत्युपछि अर्जुनले जान्ह्वी र खुशी कपुरको अभिभावकको जिम्मेवारी पनि बहन गरिरहेका छन् ।

शाहिद कपुर–ईशान खट्टर र सना कपुर
शाहिद कपुरका आफ्नै सहोदर भाइ बहिनी छैनन् । तर, ईशान खट्टर र सना कपुरसँग उनको सम्बन्ध विशेष छ । शाहिद आफ्ना भाइ–बहिनीसँग विशेष सम्बन्ध रहेको बताउँछन् । उनले विभिन्न अन्तर्वार्तामा बताइसकेका छन्, की, ‘भाइ बहिनीबीचको सम्बन्ध खास हुन्छ । त्यसले केही फरक पर्दैन, की उनीहरू सहोदर वा सौतेनी हुन् ।’

सारा अली खान र तैमुर अली खान
बलिवुड अभिनेत्री सारा अलि खानका आफ्नै सहोदर भाइ इब्राहिम अली खान हुन् । तर, सारा करीना र सैफ अली खानका छोरा तैमुर अलीसँग खास लगाव राख्छिन् । तैमुर अहिले सानै छन्, साराले तैमुरसँग आनन्द महसुस गर्छिन् । उनले तैमुरलाई विभिन्न स्थानमा घुमाउन लगेको तस्वीरहरू सामाजिक सञ्जालहरूमा शेयर पनि गर्ने गरेकी छन् ।
