०६ साउन २०८३, बुधबार

पाँचौं विश्व संस्कृत दिवस मनाइँदै

पाँचौं विश्व संस्कृत दिवस मनाइँदै

श्रावण पूर्णिमा, ऋषितर्पणी, जनै पूर्णिमा एवं क्वाती पुह्नी सँगसँगै विश्व संस्कृत दिवस शुक्रवार मनाइँदैछ ।

विश्व संस्कृत दिवसको मूल समारोह वाल्मीकि विद्यापीठ प्रदर्शनीमार्ग, काठमाडौंमा आयोजना गरिएको छ । विश्व संस्कृत दिवस जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि मनाउन थालिएको हो । 

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा. दीर्घराज घिमिरेलाई संस्कृत विशेष सम्मान गरिँदैछ । त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका उपप्राध्यापक रोहिणीराज तिमिल्सिनालाई १ लाख रुपैयाँ राशिको आरुणि संस्कृत शोधवृत्ति पनि सोही कार्यक्रममा प्रदान गरिँदैछ ।

तिमिल्सिनाद्वारा संस्कृत भाषामा अनुवाद एवं सम्पादन गरिएको पुस्तक ‘राज्यराष्ट्रम्’को लोकार्पण पनि शुक्रवार नै गरिँदैछ । पुस्तकका मूल लेखक डा. निर्मलमणि अधिकारी, डा. गोविन्दशरण उपाध्याय र सुशील गौतम छन् ।

पाँचौं विश्व संस्कृत दिवसको मूल समारोहको आयोजनामा नेपालबाट नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठ, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग, काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग, जरो किलो प्रतिष्ठान नेपाल, जयतु संस्कृतम् संस्थाको सहकार्य रहेको छ ।

यसैगरी सनातन धर्म महासंघ नेपाल, सहृदयता समाज नेपाल, युगनिर्माण महिला समाज नेपाल, राष्ट्रिय हिन्दू एकता मञ्च र हिमवत् आर्ष प्रज्ञा पनि आयोजक समूहमा छन् । अन्तर्राष्ट्रिय क्षेत्रबाट इन्टरनेसनल फेडेरेसन अफ् सनातन धर्म, सहृदयता इन्टरनेसनल यूएसए र नेपाली हिन्दू फोरम यूके लगायतका संस्थाहरू पाँचौं विश्व संस्कृत दिवसका आयोजक छन् ।

प्रत्येक वर्ष तिथिअनुसार श्रावण पूर्णिमा अर्थात् ऋषितर्पणीका दिनमा मनाइने विश्व संस्कृत दिवसको प्रारम्भ जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि भएको हो । यस वर्ष पाँचौं विश्व संस्कृत दिवस नेपाल लगायत करीब ३० देशमा मनाइने भएको विश्व संस्कृत दिवस कार्यपरिषद्का संयोजक डा. माधवप्रसाद पाण्डेयले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्