
नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गरेर केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । अध्यक्ष केपी ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए ।
मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि उक्त कमिटीले काम गर्ने उनले बताए ।
बिहीवार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको हो । कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहने गुरूङले जानकारी दिए ।
त्यसबाहेक, जनसंगठनका अध्यक्ष र महासचिवहरू, पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू पनि निर्वाचन परिचालन कमिटीको सदस्य रहनेछन् ।
बैठकले चुनावका लागि तयारीका लागि भदौ पहिलो साता स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । त्यसैगरी, भदौ ७ गते स्थायी कमिटी, ९ गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाइएको गुरूङले बताए ।