
न्याय परिषद् सचिवालयमा तोडफोड गर्ने नुरप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार अधिकारीले न्याय परिषद् सचिवालयको ढोका तोडफोड गर्दै कर्मचारीलाई कुटपिट गर्ने प्रयास गरेका थिए । कम्प्युटर फुटाउनसमेत उनले कोसिस गरेको कार्कीले लोकान्तरलाई बताए ।
‘त्यसै आएर ढोका फुटाई कर्मचारीलाई हातपात गर्न खोज्दै कम्प्युटरसमेत फुटाउन लागेका थिए, पछि प्रहरी बोलाएर उनलाई नियन्त्रणमा लिइएको हो,’ कार्कीले लोकान्तरसँग भने, ‘मलाई अन्याय भयो, मलाई अन्याय गर्ने न्यायाधीशलाई कारबाही गर्नुपर्यो भन्दै अचानक तोडफोड गरे ।’
कुन न्यायाधीशले के अन्याय गर्यो भन्ने लिखित उजुरी पनि नदिएर त्यसै अचानक आएर तोडफोड गर्न लागेको उनले बताए ।
पक्राउ परेका अधिकारी गंगामाया अधिकारीका छोरा हुन् । अनसनको क्रममा उनका बुवा नन्दप्रसाद अधिकारीको ज्यान गएको थियो । माओवादी कार्यकर्ताले नन्दप्रसादका अर्को छोरा कृष्ण अधिकारीलाई माओवादीका कार्यकर्ताले हत्या गरे पनि आफूलाई जिल्ला अदालतले न्याय नदिएको उनको गुनासो छ ।