
मोरङमा एक बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बलात्कार गरेको आरोपमा बेलबारी–८ का २१ वर्षीय सन्तोष नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
‘ती युवती बेलबारीमा आफन्त कहाँमा आएका बेला उनीहरूको चिनजान भएको थियो । बेलबारी–८ मा भएको कराँते प्रतियोगिता हेर्न दुवै जना गएका रहेछन् । आरोपित युवाले निगुरो टिप्न जाऊँ भनी बालिकालाई ललाइफकाई सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ ईलाका प्रहरी कार्यालय बेलबारीका निरीक्षक खगेन्द्र धमलाले भने ।
प्रहरीका अनुसार गत सोमवार साँझ ५ बजेतिर बलात्कृत भएको भनी बालिकाले प्रहरीमा जाहेरी दिएकी थिइन् । बालिकाले आफू बलात्कृत भएको भनी आफन्तलाई सुनाएपछि आफन्तहरू आरोपित सन्तोषका घरमा गएका थिए । सन्तोषका परिवारका सदस्यले दोष मात्रै लगाएको भन्दै लखेटेका थिए । त्यसपछि बालिकाका आफन्तले कानेपोखरी प्रहरी चौकीमा गएर जाहेरी दिएका थिए ।
बेलबारीमा घटना भएको भन्दै कानेपोखरी प्रहरीले बेलबारी प्रहरीलाई जिम्मा लगाएको थियो ।
बलात्कार आरोपी नेपालीलाई ईलाका प्रहरी कार्यालय बेलबारीले सोमवार राति घरैबाट पक्राउ गरेको थियो । उनीविरुद्ध जबरजस्तीकरणी मुद्दा चलाउन बुधवार अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।