काठमाडौँ, १४ साउन- निर्वाचन आयोगका क्षेत्रीय कार्यालयमा दुई–दुईवटा गाडी छन् । हरेक जिल्ला निर्वाचन कार्यालयमा एउटा–एउटा गाडी छन् । ०६४ र ०७० को निर्वाचनमा सहयोग जुटाइएका गाडी ती कार्यालयमा पठाइएको पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको भनाइ छ । अहिले पनि आयोगले भारतसँग गाडी सहयोग मागिरहेको छ । भारतले टाटाको डबल क्याबिन पिकअप भ्यान दिने गरेको छ । ती गाडी ०७० सालमा सबै जिल्ला निर्वाचन कार्यालयमा पुर्याएको उप्रेतीले बताए, नयाँ पत्रिकामा खबर छ ।

‘०७० सालमा सबै क्षेत्रीय र जिल्ला निर्वाचन कार्यायमा गाडी पुर्याएको थियो, अहिले रिप्लेस गर्न मागेको हो कि,’ उनले भने । तर, वर्तमान निर्वाचन आयुक्त नरेन्द्र दाहालले सबै जिल्लामा गाडी नपुगेकाले यसपटक मागिएको दाबी गरे ।
‘पहिला सबै जिल्लामा गाडी पुगेका थिएनन्, अहिले गाडी पुग्ने जिल्लामा गाडी पुर्याएको छ,’ उनले भने । सरकारले ०७० को संविधानसभा निर्वाचनका लागि भनेर ७४८ वटा गाडी भारतसँग मागेको थियो, त्यसमध्ये ४८ वटा निर्वाचन आयोगले प्रयोग गरेको थियो । ०७० र ०७४ मा गरी करिब एक सय गाडी भारतबाट सहयोग मागिएका छन् ।