२३ असार २०८३, मंगलबार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमबाट २ जनाको मृत्यु भएको छ । शुक्रवार २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८१ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयले कूल ४ हजार ७ सय १२ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ ।
००००
कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीवार नेपालको संविधानको धारा १६८ (९) बमोजिम नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य शाहीलाई मन्त्री पदमा नियुक्त गरेका थिए । 
प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले अदालतको पत्रले तत्काल शपथ कार्यक्रम रोकिएको जानकारी दिए । ‘पहिला अदालतको पत्र आइपुग्यो, मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेको पत्र बिहीबार साँझ प्राप्त भयो,’ उनले भने, ‘उच्च अदालतको निर्देशनात्मक आदेशका कारण तत्काललाई शपथ रोकिएको छ ।’
००००
कर्णाली प्रदेश प्रमुख तिलक परियारले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । कर्णाली प्रदेश सचिवालयले शुक्रबार एक सूचना टाँस गर्दै प्रदेशसभाबाट विभिन्न मितिमा पारित भएका चार विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेको जनाएको छ ।  
००००
विप्लव नेतृत्वको नेकपासहितका साना ४ कम्युनिस्ट घटकले आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार एक वक्तव्य जारी गर्दै  चार साना कम्युनिस्ट घटकले बन्दसहितको चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।  गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, ३ बुँदे सहमतिविपरीत विप्लवसहितका नेताहरूमाथि भएको पक्राउ पुर्जीलगायतको विरोधमा आन्दोलनको कार्यक्रम तय गरिएको संयुक्त वक्तव्यमा उल्लेख  छ  ।
जसअनुसार भदौ १ गते देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भदौ ४ गते देशव्यापी विरोधसभा, भदौ ६ गते देशव्यापी मसाल जुलुस र भदौ ७ गते नेपाल बन्दसमेत गर्नेगरी आन्दोलनको कार्यक्रम तय भएको छ । आफूहरुको माग सम्बोधन नभए थप सशक्त संघर्षका कार्यक्रमहरु घोषणा गरिने पनि विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
००००
मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्रहरू नियन्त्रणमा लिएको हो ।
००००
वसन्तपुर डबलीमा अनसनमा बसिरहेकी ‘कुमारी आमा’ निहारिका राजपूतले शुक्रवार शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी छन् । पछिल्लोपटक एकहप्ता अगाडिदेखि अनसनमा बसिरहेकी उनले शुक्रवार राष्ट्रपति भवन शितलनिवास पुगेर आत्मदाहको प्रयास गरेकी हुन् । 

वसन्तपुरस्थित अनसनस्थलबाट उनी शुक्रवार अपराह्न आत्मदाह गर्ने भन्दै ट्याक्सी चढेर शितलनिवास पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले शितलनिवास पुगेर ट्याक्सीबाट ओर्लनेबित्तिकै जिउमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् । 
तर, त्यहाँ रहेका सुरक्षाकर्मीले उनलाई तत्काल आत्मदाह गर्नबाट रोकेका थिए । प्रहरीले उनको उद्धार गरेको थियो । उद्धार गरेर प्रहरीले उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र्पुयाएको छ ।
००००
मधेश प्रदेशसभाको चालू नवौँ अधिवेशन बिहीवार रातिदेखि अन्त्य भएको छ । मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेका हुन् । 
००००
सरकारले मिटरब्याजसम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिएका थिए ।
००००
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । उनीहरूबीच सभामुखको सरकारी निवास लैनचौरमा शुक्रवार बिहान भेटवार्ता भएको हो । भेट दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको सभामुखको सापकोटाको सचिवालयले जनाएको छ ।
००००
हनी ट्रयापमा पक्राउ परेका श्रीमान् श्रीमती १ लाख ५० हजार धरौटीमा छुटेका छन् । सिन्धुली कमलामाई नरपालिका–६ की ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् ३१ वर्षीय कृष्णहरि खड्का र नक्कली प्रहरी निरीक्षक सञ्जय कार्कीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले साउन ४ गते पक्राउ गरेको थियो ।
००००
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा पर्व शुक्रबार  देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइयो । सोही दिन गाईजात्रा पर्व पनि मनाइएको छ।  

salt training

कमेन्ट गर्नुहोस्