काठमाडौं, १४ साउन - प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने । गृह मन्त्रालयले लामालाई काजमा तान्न अनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाललाई ट्राफिक प्रहरी महाशाखा पठाउन मुख्यालयमा पत्र पठाएको स्रोतले जनाएको छ ।

अन्नपूर्ण लेख्छ- प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले अडान लिन नसक्दा विनाआरोप लामालाई काजमा तानिएको चर्चा मुख्यालयमा छ ।
लामा असार ३० गते एआईजी बढुवाको सिफारिसमा परेका थिए । मंगलबार मात्र उनलाई मुख्यालय तानेर डीआईजी बढुवा सिफारिसमा परेका एसएसपी खनाललाई महाशाखाको जिम्मेवारी सुम्पिएको छ । उच्च प्रहरी अधिकारीको काज सरुवाबारे पूर्वआईजीपी कुवेरसिंह राना भन्छन्, 'बढुवा सिफारिसमा परिसकेको अवस्थामा नियमित प्रक्रियामा सरुवा गरेको भए राम्रो हुन्थ्यो, दबाब आयो भन्दैमा संगठन प्रमुखले गलत सन्देश दिने काम गर्नुहुँदैनथ्यो ।'
एसएसपीबाट डीआईजीका लागि बढुवा सिफारिस गर्दा पनि आईजीपी अर्याल विवादको घेराबाट बाहिर रहन सकेनन् । ब्याडमिन्टन खेल्दा लडेर अर्धचेत अवस्थामा रहेका एसएसपी राजेन्द्रमान श्रेष्ठ बढुवा सिफारिसमा परेनन् । उनी एसएसपीमा तेस्रो नम्बरका अधिकृत हुन् । उनकै ब्याचका एक प्रहरी अधिकृत भन्छन्, 'आईजीपीले यो राम्रो गर्नुभएन, उहाँले गृहमन्त्रीलाई कन्भिन्स गर्न सक्नुपर्थ्यो । एक तह सम्मानस्वरूप बढुवा दिएपछि अर्कोपटक विचार गर्न सकिन्थ्यो । श्रेष्ठलाई अन्तिम अवस्थामा अपमानित गरियो ।' प्रहरी स्रोतका अनुसार एसएसपी श्रेष्ठलाई बढुवा गर्नुपर्ने आशयसहितको पत्र मन्त्रालयमा पुगेको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) बढुवा सिफारिसमा पनि आईजीपीको 'स्वेच्छाचारिता' देखिएको प्रहरी अधिकृत बताउँछन् ।
आईजीपीलाई लागेको आरोप -गृहमन्त्री जनार्दन शर्मासामु निरीह
- बढुवा सिफारिसमा न्याय गर्न असफल
- निलम्वन सिफारिसकालाई पुरस्कार
- शक्तिकेन्द्र धाउनेलाई नै अवसर
- बढुवा सिफारिसविरुद्ध लोकसेवामा उजुरी
- पदीय मर्यादा कायम गर्न नसकेको आरोप
- अत्यधिक व्यस्तता
- संगठन सुदृढीकरणमा कमजोर अडान