
काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ‘कुमारी आमा’ निहारिका राजपूतलाई भेट्न शनिवार अस्पताल पुगेका छन् । शुक्रवार राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेपछि निहारिकालाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो ।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी निहारिकालाई भेट्न मेयर बालेन शनिवार बिहान अस्पताल पुगेका हुन् । निहारिकासँगको भेटपछि बालेनले उनको कुनै ठूलो माग नरहेको प्रतिक्रिया दिएका छन् । उनले कानूनी राज्यमा यस्तो हुन नहुने बताएका छन् ।
उनले निहारिकामाथि राज्यले ‘अत्ति’ गरेको आरोप लगाएका छन् । फेसबुकमा मेयर बालेनले लेखेका छन्, ‘आफ्नो बच्चाको डीएनए टेष्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’
निहारिका पछिल्लोपटक एकहप्ता अगाडिदेखि अनसनमा बसिरहेकी थिइन् । उनले शुक्रवार आत्मदाहकाे प्रयास गरे पनि शितलनिवासको सुरक्षार्थ खटिएको प्रहरीले तत्कालै उनलाई उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्याएको थियो ।
महोत्तरीको जलेश्वर नगरपालिका ९ की सोनालीकुमारी सिंह ‘निहारिका’ यसअघि ८ दिनसम्म अनसनमा बसेकी थिइन् । त्यतिबेला सरकारसँग ५ बुँदे सहमति गरेपछि अनसन उनले तोडेकी थिइन् । तर, सरकारले आफूसँग भएको सहमतिको कार्यान्वयन नगरेको भन्दै उनी साउन २० गतेबाट पुनः अनसनमा बसेकी थिइन् ।
उनी बलात्कारबाट आफ्नो गर्भ बसेको र बच्चा जन्मिएको भन्दै दोषीलाई कानूनी कारबाहीको माग गर्दै आन्दोलनमा उत्रँदै आएकी हुन् ।