१४ असार २०८३, आइतबार

पार्टीभित्रैका नेताहरू मिलाउन प्रचण्डलाई सकस

पार्टीभित्रैका नेताहरू मिलाउन प्रचण्डलाई सकस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरूलाई नै मिलाउन सकस परेको दुखेसो गरेका छन् । पार्टीको महाधिवेशन सम्पन्न भएको एक वर्ष पुग्न लाग्दासम्म पदाधिकारी चयन गर्न नसकेका उनले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीभित्र नेताहरू मिलाउन चुनौतीपूर्ण रहेको बताएका हुन् । उनले पार्टीका नेताहरूमा व्यक्तिवादी सोच हाबी हुँदै गएको बताए । 

दिवंगत नेता पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको साताैँ साधारणसभामा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रकै नेताहरूलाई मिलाउन नसक्ने अवस्था पुगेको खुलासा गरे । उनले भने, ‘अध्यक्षको रूपमा नेताहरूलाई के गरी मिलाउने भन्ने चुनौती आजको सबैभन्दा ठूलो भएको मैले देख्छु ।’

नेता मिलाउन सके जनता माओवादीको पक्षमा एकढिक्का रहेको उनको जिकिर छ । मधेशमा पार्टी प्रवेशको लहर भए पनि पार्टीकै नेताहरू एकअर्काविरुद्ध उत्रिएको प्रचण्डको भनाइ थियो । उनले भने, ‘हाम्रै पार्टीका नेताहरू एकले अर्कालाई के गरी खुट्टा तान्ने हो, के गरी हराउने हो भन्नेमा तँछाडमछाड, मारामार छ ।’

अध्यक्ष प्रचण्डले वैशाख ३० को स्थानीय तहको निर्वाचनमा ५० सिट आफ्नै कारणले गुमाएको बताएका छन् । १७५ तह जित्ने अनुमान रहेको भए पनि पार्टीभित्रैको अन्तरविरोधका कारण ५० सिट गुमाएको उनको भनाइ थियो । पार्टीभित्रको अन्तरविरोधका कारण पार्टीका नेताहरूले नै जनतालाई विभाजित गराएको उनको दाबी छ । उनले आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा एक ढिक्का भएर जनतामाझ जान नेता तथा कार्यकर्ताहरूलाई आग्रह पनि गरे । 

अध्यक्ष प्रचण्डले आगामी निर्वाचनलगत्तै विशेष महाधिवेशनमा जाने बताए । 

salt training

कमेन्ट गर्नुहोस्