
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जीवन नै सर्कसको डोरीमा हिँड्ने खेलाडी जस्तो रहेको भन्दै नातावाद कृपावादमा नलाग्ने बताएका छन् ।
अरूले जस्तो आफूले भाइ भतिजालाई राजदूत र सांसदमा नियुक्त नगरेको उनको भनाइ थियो ।
आइतवार काठमाडौंमा युवाहरूसँगको अन्तर्क्रियामा पूर्व प्रधानमन्त्री ओलीले आफ्नो सहोदर भाइ गाउँमा हलो जोतेर बसिरहेको बताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गर्दै भाइ भतिजालाई सांसद र मन्त्री बनाउने आफ्नो राजनीतिको लक्ष्य नभएको उनले बताए ।
‘मेरो स्वास्थ्य सहज नभएकाले सर्कसको डोरीमा हिँड्ने खेलाडी जस्तै हुनुपर्छ, नभए बिग्रिन्छ । मेरो आफ्नो या अर्को भन्ने हुँदैन । मेरो भाइ छ, मेरो भाइको बारेमा सुन्नु भएको छ ? दश कट्ठा जमिन लिएर गाउँमै जोतेर बसिरहेको छ,’ युवाहरूले सोधेको एक प्रश्नको जवाफमा ओलीले भने, ‘झापा भद्रपुर नगरपालिकाको वडा कमिटीमा सक्रिय छ । मैले थाहा पाएदेखि राजनीति गरिरहेको छ संसदको उम्मेदवारी पाउने वाला छैन ।’
ओलीले देशको शीर उचो पार्नेगरी काम गर्न युवाहरूलाई आग्रह गरे ।