
नेपाली कथानक चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौं) को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।
एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटनाक्रमको कथालाई लिएर बनेको सो चलचित्रमा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।
सन् २०२१ म कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस चलचित्र अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ्ग भइसकेको छ ।
यसका साथै इण्डस भ्याली इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि ‘महानगर’ छनौट भएको छ ।
चलचित्रले निफमा राष्ट्रिय चलचित्रको क्याटोगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोराम अन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो ।
माउन्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्स सँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको ‘महानगर’को लेखन निर्देशन मोहन राईले गरेको हुन् भने चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, परीक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पा संगमको संगीत रहेको छ ।
चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली हुन भने नवनिधि दाहाल यसका क्रिएटिभ प्रोडुसर हुन् ।
चलचित्रको प्रर्दशन निकट भविष्यमा गर्नका लागि तयारी भइरहेको कार्यकारी निर्माता गोविन्द पराजुलीले बताएका छन् ।