
उच्च अदालत सुर्खेतको आदेशविपरीत कर्णाली प्रदेशका नवनियुक्त मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतवार बिहान प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
उच्च अदालतले सुर्खेतले कर्णाली प्रदेश सरकार समावेशी नभएको भन्दै नवनियुक्त मन्त्रीलाई शपथ ग्रहण नगराउन आदेश दिएको थियो । तर, अदालतको आदेश लत्याउँदै प्रदेशमन्त्रीलाई शपथ खुवाइएको हो । उच्च अदालत सुर्खेतले निर्देशनात्मक आदेश दिएपछि यसअघि तय भएको उनको शपथ कार्यक्रम रोकिएको थियो ।
नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य शाहीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले गत बिहीवार प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए । उनी डोल्पाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
यसअघि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएपछि शाहीलाई मन्त्री बनाइएको हो ।