२६ असार २०८३, शुक्रबार
विकासमा ढिलासुस्ती

हुलाकी राजमार्गमा हिलो–धुलोले सास्ती, कालोपत्रे नगरे भोट नदिने चेतावनी

साउन २९, २०७९
हुलाकी राजमार्गमा हिलो–धुलोले सास्ती, कालोपत्रे नगरे भोट नदिने चेतावनी

हुलाकी राजमार्गको काम कछुवाको गतिमा हुँदा जनताले सास्ती खेप्नुपरेको छ ।

सडक निर्माण थालिएको ३ वर्ष बित्न लाग्दासम्म सडक भत्काउनेभन्दा अन्य कुनै काम हुन सकेको छैन । ठेक्का सम्झौता गरेर निर्माण कम्पनीले ३ वर्षमा बाटो मात्रै भत्काएको छ ।

‘बर्खामा हिलोले घरबाट बाहिर निस्कन सकिँदैन,’ रतुवामाईका बच्चुलाल सिंहले भने, ‘हिउँदमा धुलो घरभित्र पसेर धुलो र भात बराबरी खानुपरेको छ ।’

सडकले सास्ती दिएपछि सडक आसपास बसोबास गर्ने जनता आक्रोशित हुन थालेका छन् । स्थानीयले चुनाव नै बहिष्कार गर्नेसम्मको चेतावनी दिन थालेका छन् ।

‘नेताहरू चुनाव शुरू भएपछि मात्रै बाटो बनाउँछु भन्दै गाउँमा आउँछन् । यस पटकको चुनावमा भने कसैलाई पनि भोट दिँदैनौँ । घर अगाडि जहिले पिच हुन्छ अनि मात्रै भोट दिने निर्णयमा पुगेका छौं,’ बच्चुलालले भने ।

हुलाकी राजमार्ग अन्तर्गत मोरङमा ९९.५ किलोमिटर सडक निर्माणाधीन छ । ९९.५ किलोमिटरमध्ये ७ खण्ड गरेर ठेक्का लगाइएको थियो । ४४ किलोमिटरको रतुवा–केशलिया सडक, ३० किलोमिटरको गान्धी मनमोहन मार्ग, २२ किलोमिटरको कानेपोखरी–रंगेली सडक र ३.५ किलोमिटरको विराटनगर–केशलिया सडक छन् । यसमध्ये कानेपोखरी रंगेली सडकको काम केही भएको छ । भारतीय ठेकेदार कम्पनीले सडक खण्ड निर्माणको काम गरिरहेको छ ।

हुलाकी राजमार्ग विस्तारमा ठेकेदार कम्पनीले आफैं मापदण्ड बनाएर समेत ठेकेदारले काम गर्ने गरेका छन् । कानेपोखरी रंगेली सडकखण्ड भारतीय कम्पनीले बनाएको थियो । सडक निर्माणको काम नै नसकी सम्झौतामा नभएको काम गरेर ठेकेदार कम्पनी भाग्न खोजेको थियो ।

सम्झौतामा नभएको सडकमा रेलिङ लगाउने काम गरेर काम सकेको भन्दै ठेकेदार हिँड्न खोजेको हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनीयर विजयकुमार थापाले बताए । रतुवा–केशलिया सडक खण्डमा गजुरमुखी मोतिदान जेभी, कालिका मैनाचुली वेदान्सी जेभी र श्रेष्ठ कन्सट्रक्सनले काम गरिरहेका छन् । गान्धी मनमोहन मार्गमा कान्छाराम कन्सट्रक्सन तथा विराटनगर केशलिया रोड सडक खण्डमा देव एण्ड सायर भूमिले ठेक्का पाएका थिए । त्यसमध्ये महानगरभित्र भने कुनै काम भएको छैन ।

ठेकेदारले अरूलाई दोष देखाउँदै उम्कने गरेको इन्जिनीयर थापाले बताए । ३.१९ किलोमिटर सडक निर्माणको सम्झौता २०७८ माघ २ गते भएको थियो । त्यसयता हुलाकी सडक निर्माणका नाममा एक चपरी माटो समेत कसैले नफालेको स्थानीयले बताएका छन् । अस्पताल चोकदेखि बरगाछीको गणेश चोकसम्मको सडक खण्ड ठेक्का नै लागेको छैन । 

मोरङको रतुवा–केशलिया सडक खण्डअन्तर्गत रतुवामाईदेखि झुँगी टोलसम्मको १६.५ किलोमिटर सडक खण्डको निर्माण सम्झौता भएको अढाइ वर्ष बितेको छ । २०७६ कात्तिक २४ गते सम्झौता भएको सडक २०७९ कात्तिक २३ गतेसम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ तर हाल सडकको भौतिक प्रगति २० प्रतिशत मात्र छ । ७९ करोड ११ लाख ३५ हजार रुपैयाँमा सम्झौता गरिएको थियो ।

कोरोना तथा महँगीको कारण देखाउँदै ठेकेदारले काम नगरेको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ । 

यसैगरी रतुवा–केशलिया सडक खण्डको बेतौनादेखि कटहरीको नयाँ बजारसम्मको ११.९ किलोमिटर सडक खण्डको अवस्था कहालीलाग्दो छ । 

२०७६ कात्तिक २४ गते सम्झौता भएको सडकको भौतिक प्रगति २० प्रतिशत मात्रै छ । चालू आवमा  सक्नुपर्ने सडक ७८ करोडको लागतमा निर्माण सम्झौता भएकोमा १४ करोड भुक्तानी भइसकेको छ । झुँगी टोलदेखि बेतौनासम्मको ७.६ किलोमिटर सडक खण्ड कालोपत्रे भइसकेको योजना प्रमुख थापाले जानकारी दिए । 

कटहरीदेखि विराटनगरसम्मको ६ किलोमिटरमा १५ प्रतिशत, गान्धी मनमोहन मार्गअन्तर्गत पथरी–डाँस पुल र डाँस पुल–रंगेलीसम्मको ३० किलोमिटरको ३० प्रतिशत काम भएको छ । 

सम्झौता भएको मितिले ३ वर्षभित्रमा सडक निर्माणको काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । सडक निर्माणको कामले गति नलिएपछि मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काशीराज दाहालले ठेकेदारलाई बोलाएर जनताको दिनचर्यासँग जोडिएको विषयमा हेलचक्र्याइँ नगर्न निर्देशन दिएका छन् । काम चित्तबुझ्दो नभएपछि उनले चासो देखाएका छन् ।

ठेकेदारले समयमा काम नगर्दा गाली खानुपरेको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ । ‘निर्माणको जिम्मा पाएकाले समयमा काम गर्दैनन्, हामीले गाली खानु परिरहेको छ,’ रंगेली नगरपालिकाका मेयर  दिलीप अग्रवालले भने, ‘संघीय सरकार मातहतको योजना भए पनि नागरिकसँग प्रत्यक्ष जोडिने भएकाले हामीसँग धेरै गुनासा आउने गरेका छन् ।’ 

तराई–मधेशका २१ जिल्ला जोड्ने राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक आयोजना आर्थिक वर्ष २०६२/६३ सालबाट शुरू भएको हो तर मोरङमा केही समयपछि मात्रै ठेक्का लागेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्