
रुपन्देहीको ओमसतिया गाउँपालिकामा आइतवार राति एक युवकमाथि गोली प्रहार भएको छ ।
अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।
नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार ३ जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया–४ बसन्तपुरमा राति १२ बजेतिर एक राउण्ड गोली हानेको प्रहरीले जनाएको छ ।
पेटको बायाँतर्फ गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उक्त घटनाको आधा घण्टा अगाडि रोहिणी गाउँपालिका १ बाइपासस्थित सिद्धार्थ कटेजमा अज्ञात समूहले पेस्तोल देखाएर २ तोला सुन र केही नगद लुटेको थियो ।
गुरुङमाथि गोली प्रहार गर्ने समूह सोही लुटपाटमा संलग्न व्यक्ति हुन् वा होइनन् भन्ने यकिन भइनसकेको प्रहरीको भनाइ छ ।
गुरुङमाथि गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।