
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास नेपाली मोडलमै गर्नुपर्ने बताएका छन् । विगतमा नेपालको विकास विकसित देशहरूको मोडेलमा गर्न सकिने भनिँदै आए पनि हाल आएर नेपालको विकास नेपाली मोडेलमै गर्नुपर्ने निष्कर्षमा पुगेको बताएका हुन् ।
सोमवार काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताए । उनले नेपालको विकासको स्वरुप आफ्नै प्रकारको हुनुपर्ने बताएका हुन् ।
‘नेपालको विकासको मोडेल नेपाली शैलीकै हुनुपर्दछ’, उनले भने, ‘विगतमा कतिपयले सिंगापुरजस्तो, स्वीट्जरल्याण्डजस्तो, जापानजस्तो इत्यादी भन्ने पनि गरेका छौँ । तर, अहिले सबैतिरको स्थिति हेर्दा हामीले नेपालको विकास नेपाली मोडेलकै हुनुपर्दछ । हाम्रो इतिहास, भुगोल, संस्कृति, हाम्रो जातीय बनोटअनुसार नै त्यसैको अनुकूल नेपाली मोडेलको विकास हामीले गर्न सक्नुपर्दछ ।’
अध्यक्ष प्रचण्डले विकासको वातावरण बनाउनका लागि उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवद्र्धन गर्ने र आयात प्रतिस्थापन गर्नेलगायतका काम गर्नुपर्नेमा जोड दिए ।
‘उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवद्र्धन गर्ने, आयात प्रतिस्थापन गर्ने, त्यस्ता उत्पादन कार्य भनेका छौँ भने साथसाथै त्यो उत्पादन कार्यलाई अगाडि बढाएर राष्ट्रलाई समृद्ध बनाउनको निम्ति संस्कृतिको, कलाको, पत्रकारिताको वा विभिन्न क्षेत्रमा कार्यरत सबै श्रष्टाहरुको निकै ठूलो भुमिका छ, किनकी भौतिक विकासले मात्रै पनि मानिसहरुको जिवन र समाज सुमधुर हुन सक्दैन’, उनले भने ।
अध्यक्ष प्रचण्डले आफूले देशको आर्थिक समृद्धिको निम्ति नेपाली जनताले चाहेअनुसार विकासको एउटा नयाँ मोडेलको विकास गर्नकै निम्ति समर्पित गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएको स्मरण गरे ।