०२ असार २०८३, मंगलबार

प्रज्ञा प्रतिष्ठानलाई बजेट अपुग

प्रज्ञा प्रतिष्ठानलाई बजेट अपुग

नेपाल सरकारबाट विगतमा भन्दा कम बजेट विनियोजन भएपछि नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभाको आज सम्पन्न ३७औँ बैठकले थप रकम माग गर्ने गरी चालु आर्थिक वर्षका लागि बजेट र कार्यक्रम स्वीकृत गरेको छ । 

सभाले रु ३० करोड २० लाख ४२ हजारको बजेट पारित गरेको प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए । उक्त बजेटबाट कर्मचारीहरुको १५ प्रतिशत वृद्धि तलब र उपदानलगायतका नियमित दायित्व धान्न गाह्रो हुने भएकाले सरकारसँग थप रकम माग गरिएको उपाध्यायले बताए ।

गत आर्थिक वर्षमा सरकारबाट प्रतिष्ठानलाई रु १९ करोड १२ लाख ६४ हजार विनियोजन भएकामा चालु आर्थिक वर्षका लागि रु १४ करोड २३ लाख मात्रै विनियोजन भएको छ । गत आर्थिक वर्षमा रु २५ करोड १४ लाख ३९ हजार आठ सय २४ यथार्थ आयव्यय विवरण सभामा प्रस्तुत भई पारित भएको छ । गत आवमा प्रतिष्ठानले आन्तरिक कोषबाट रु छ करोड एक लाख ८५ हजार खर्च गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सभाको उद्घाटन गरेका थिए ।

प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्र विधामा वार्षिकरूपमा अध्ययन÷अनुसन्धान गरी, गराई पुस्तकहरूको प्रकाशन, राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीयस्तरमा सम्मेलन, गोष्ठी र कार्यशाला गरेर नेपालका भाषा, साहित्य, संस्कृतिलगायतको उन्नयनमा महत्वपूर्ण योगदान दिँदै आएको छ । प्रतिष्ठानका वर्तमान कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्यसचिव उपाध्यायको कार्यकाल आउँदो असोज २० गते र अन्य पदाधिकारीको कार्यकाल मङ्सिर मसान्तमा सकिँदैछ । रासस

salt training

कमेन्ट गर्नुहोस्