३० जेठ २०८३, शनिबार

सुदूरपश्चिममा थपिए नयाँ ३७ हजार मतदाता

सुदूरपश्चिममा थपिए नयाँ ३७ हजार मतदाता
फाइल तस्वीर

सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा ३७ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन् । थपिएकासँगै साउन १९ गतेसम्म जम्मा मतदाताको संख्या १६ लाख ६९ हजार चार सय ११ पुगेको छ  । 

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीको शिलशिलामा संकलित मतदाता नामावली निर्वाचन आयोगमा पठाइएको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसम्बन्धी कार्यतालिका आयोगले सार्वजनिक गरेसँगै प्रदेश निर्वाचन कार्यालयले  गर्नुपर्ने तयारीसम्बन्धी काम शुरू गरिसकेको छ । ‘निर्वाचनका लागि गर्नुपर्ने तयारी शुरु गरिसकेका छौँ’, निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले भने, ‘यस क्रममा मतपेटिकालगायत निर्वाचन सामग्रीको जाँच गर्ने, रुजु गर्ने र ती सामग्री सरसफाइ गर्नेलगायत काम गरिरहेका छौँ ।’

कार्यालयका अनुसार गत वैशाख ३० गतेपछि थपिएका नयाँ मतदातामा सबैभन्दा बढी कैलाली जिल्लामा ११ हजार चार सय ३० छन् । कञ्चनपुरमा नौ हजार आठ सय २८, बाजुरामा एक हजार तीन सय ६४, अछाममा चार हजार ८०, डोटीमा दुई हजार एक सय ७२, बझाङमा एक हजार छ सय ५९, डडेलधुरामा दुई हजार दुई सय ५८ बैतडीमा दुई हजार आठ सय छ र दार्चुला जिल्लामा एक हजार छ सय ६४ नयाँ मतदाता थपिएका छन् । 

 नयाँ थपिएका कैलालीमा सबैभन्दा बढी पाँच लाख ३६ हजार पाँच सय ५५ मतदाता र सबैभन्दा कम बाजुरामा ८४ हजार ५४ मतदाता पुगेका छन् । 

कञ्चनपुरमा तीन लाख पाँच हजार १४२, अछाममा एक लाख ६० हजार ३६०, डोटीमा एक लाख २५ हजार सात सय २६, बझाङमा एक लाख २३ हजार सात सय ९६, डडेलधुरामा ९२ हजार तीन सय ७७, बैतडीमा एक लाख ५१ हजार चार सय १२ र दार्चुला जिल्लामा ८९ हजार नौ सय ४९ मतदाता पुगेका छन् । 

गएको स्थानीय तहको निर्वाचनमा प्रदेशमा जम्मा १६ लाख ३२ हजार एक सय ५० मतदाता थिए । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो प्रदेशमा १४ लाख ३५ हजार छ सय ७४ मतदाता रहेका थिए । नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछि दोस्रो पटक आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ । 

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र कायम छन् । जनसंख्याको दृष्टिले तराईका जिल्ला कैलालीमा र कञ्चनपुर ठूला जिल्ला हुन् । प्रतिनिधिसभाका कैलालीमा पाँच र कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र रहेका छन् । पहाडी जिल्लामा अछाममा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र र अन्य छ जिल्लामा एक÷एक निर्वाचन क्षेत्र कायम छन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्