१९ असार २०८३, शुक्रबार
प्रतिनिधि सभा निर्वाचन

माओवादीको चिह्न रोजेका वामदेवको इच्छा– प्यूठानबाट चुनाव लड्ने

माओवादीको चिह्न रोजेका वामदेवको इच्छा– प्यूठानबाट चुनाव लड्ने

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रतिनिधिसभा चुनाव लड्ने भएका छन् ।

राष्ट्रियसभामा मनोनित सदस्य रहेका गौतम कार्यकाल नसकिँदै राष्ट्रिय सभा छाडेर प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा जुटेका हुन् । उनले माओवादी केन्द्रको चिह्न हँसिया हथौडाबाट उम्मेदवारी दिने पक्का भएको छ ।

नेकपा माओवादी केन्द्रले वामदेव गौतमको पार्टीलाई आफ्नो चिह्नबाट चुनाव लड्न दिने निर्णय मंगलवार गरेको छ । मंगलवार नै यसको जानकारी निर्वाचन आयोगलाई गराइँदै छ ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा बर्दियाबाट पराजित भएका गौतमले प्यूठानबाट चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् ।

‘वामदेव कमरेडको चाहना प्यूठानबाटै चुनाव लड्ने छ । २०७० सालमा बर्दिया र प्यूठानबाट चुनाव जितेपछि उहाँले प्यूठान नै रोज्नुभएको थियो,’ गौतमनिकट स्रोतले लोकान्तरसँग भन्यो, ‘२०७४ सालमा पार्टीले निर्णय गरेर बर्दिया पठाएको हो, फेरि उहाँ प्यूठानबाटै चुनाव लड्न चाहनुभएको छ ।’ 

२०७४ सालमा वामपन्थी गठबन्धन गर्दा जनमोर्चाले प्यूठानमा दाबी गरेको थियो । जनमोर्चाको प्रभाव रहेको प्यूठानबाट दुर्गा पौडेल विजयी भएकी थिइन् । अघिल्लो चुनावमा वाम गठबन्धनका सूत्राधार गौतमले पार्टीभित्रबाट अन्तर्घात गरेर हराइएको गुनासो गरेका थिए । 

नेकपा विभाजन हुनुअघि गौतमलाई प्रधानमन्त्री बनाउने तयारी भएको थियो । राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्थासहित संविधान संशोधनको गृहकार्य भएपनि त्यसमा सहमति जुट्न सकेको थिएन । 

त्यसपछि उपनिर्वाचन गराएर गौतमलाई प्यूठानबाट प्रतिनिधिसभामा ल्याउने चर्चा चलेको थियो । त्यो प्रस्तावले ठोस आकार लिन सकेन । 

राष्ट्रियसभा सदस्य रहेका गौतमले आफू भूमिकाविहीन सभामा नबस्ने भन्दै प्रतिनिधिसभा चुनाव लड्ने कसरत गरेका हुन् ।

२०७७ असोज १ गते गौतम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने कोटामा वामदेव सांसद बनेका थिए । 

‘प्यूठानबाटै चुनाव लड्ने उहाँको योजना छ, अन्य क्षेत्रबारे सोचिएको छैन,’ गौतममा एक सहयोगीले लोकान्तरसँग भने । माओवादीको चिह्न लिएर चुनाव लड्ने भएपछि उनी गठबन्धनको उम्मेदवार बन्ने भएका छन् । 

नेता गौतमले आफ्नो लागि कुन क्षेत्र छुट्याउने त्यो प्रचण्डको जिम्मा भएको बताएका छन् ।

‘मैले गोलाकारभित्रको हँसिया हथौडा चिह्नबाट चुनाव लड्ने भनेर प्रचण्डजीसँग सहमति गरेको छु । मेरो लागि प्रचण्डजीले कसको हिस्साबाट सीट छुट्याउनुहुन्छ, त्यो मलाई थाहा छैन । जे होस्, नयाँ प्रयोग गर्दैछौं,’ गौतमले निर्वाचन आयोगको कार्यकक्षमा मंगलवार भने, ‘माओवादीको चुनाव चिह्नबाट लड्दा हाम्रो पार्टी गठबन्धनमा नभए पनि मैले चुनाव जित्ने कुरा सुनिश्चित हुन्छ ।’

यस्तो छ प्यूठानको राजनीतिक समीकरण 

वरिष्ठ वामपन्थी नेता मोहन विक्रम सिंहको गृहजिल्ला समेत रहेको प्यूठानमा जनमोर्चाको प्रभाव अहिले पनि कायम छ । २०५६ सालको चुनावमा नवराज सुवेदी र हरि आचार्य प्यूठानबाट चुनाव जितेका थिए । 

२०६४ सालको संविधानसभा निर्वाचनमा प्यूठानका दुवै क्षेत्रमा माओवादी विजयी भएको थियो । २०७० सालको चुनावमा वामदेव गौतम प्यूठान १ बाट विजयी भएका थिए । १३ हजार ९ सय ३२ मत प्राप्त गरेर गौतम विजयी भएका थिए । २०७० सालमा वामदेव १ बाट विजयी हुँदा प्यूठान २ बाट हिराबहादुर केसी विजयी भएका थिए । 

गौतम २०४८ र २०५१ सालमा बर्दिया १ बाट विजयी भएका थिए । २०७४ सालको चुनावमा जनमोर्चाकी दुर्गा पौडेल पौडेल ४७ हजार ५ सय १४ मतसहित विजयी हुँदा कांग्रेसका डा. गोविन्द पोखरेलले ३१ हजार २ सय ८६ मत पाएका थिए । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा प्यूठानमा कांग्रेस र माओवादीले समान ३ पालिका जित्दा एमाले दुई स्थानमा खुम्चिएको छ । 

तर, वडाध्यक्षमा पाएको भोटका आधारमा नेकपा एमाले अग्रस्थानमा छ । नेकपा एमालेले ३९ हजार ८७७ मत पाउँदा कांग्रेसले २१ हजार ५६४ मत पाएको छ । माओवादीले १७ हजार १ सय ६३ र जनमोर्चाले १३ हजार ६ सय १२ मत पाएका छन् ।

नेकपा एकीकृत समाजवादीले १ हजार ४ सय १७ मत पाउँदा राप्रपाले ४ सय ३३ मत पाएको छ । 

गठबन्धनको मत एक ठाउँमा जोड्दा ५३ हजार ७ सय ५६ हुन्छ । 

जनमोर्चालाई मिलाएर गठबन्धनबाट सर्वसम्मत उम्मेदवार बनेममा गौतमलाई सहज हुनेछ । तर, जनमोर्चाकी दुर्गा पौडेलले सो क्षेत्र नछाड्ने बताएकी छिन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा एमालेका तर्फबाट सूर्य थापा र कांग्रेसका तर्फबाट डा. गोविन्द पोखरेल आकांक्षी छन् । 

salt training

कमेन्ट गर्नुहोस्