१३ असार २०८३, शनिबार

बञ्चरेडाँडामा प्रहरी र आन्दोलनकारीबीच झडप, प्रहरीद्वारा हवाई फायर

बञ्चरेडाँडामा प्रहरी र आन्दोलनकारीबीच झडप, प्रहरीद्वारा हवाई फायर

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनस्थल बन्चरेडाँडाका स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । सोमवारदेखि नै काठमाडौं उपत्यकाबाट फोहर बोकेर गएका ट्रकलाई अवरोध गर्ने समूह र प्रहरीबीच मंगलवार झडप भएको हो । 

झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गर्नुका साथै हवाई फायर समेत गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए । 

फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो । स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि हवाई फायर गर्नु परेको उनले बताए । स्थानीयवासीले प्रहरीलाई ढुंगा मुढा गर्नुका साथै गुलेली पनि प्रहार गरेका थिए ।

स्थानीयवासीले सोमवारदेखि नै बन्चरेडाँडामा फोहर बोकेका ट्रक जान अवरोध गरेका थिए । उनीहरूले सोमवारदेखि नै अवरोध सिर्जना गरेका थिए । झडपअघि स्थानीयबासीले प्रहरीलाई माइकिङ गर्दै प्रहरीलाई हट्न चेतावनी दिएका थिए । 

स्थानीयबासीले यसअघि सरकार र काठमाडौं महानगरपालिकासँग गरिएको सम्झौता पालना नभएको बताउँदै फोहर व्यवस्थापनमा अवरोध गर्दै आएका छन् । काठमाडौं उपत्यकाका स्थानीय तहको फोहर धादिङ र मकवानपुरको सीमामा रहेको बन्चरेडाँडामा व्यवस्थापन गरिदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्