
बाँकेका जनता समाजवादी पार्टी (जसपा) नेता विजयबहादुर यादव मंगलबार एमाले प्रवेश गरेका छन् । बाँकेबाट निर्वाचित निर्वतमान प्रदेशसभा सांसद तथा पूर्वकृषिमन्त्री समेत रहेका यादव एमाले प्रवेश गरेको जिल्ला अध्यक्ष किस्मत कक्षपतिले जानकारी दिए ।
बाँकेको निर्वाचन क्षेत्र २ ‘क’ बाट निर्वाचित प्रदेश सासद यादवलाई नेकपा (एमाले) केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवालीले बाँकेमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।
यसअघि एमाले नेतृत्वको प्रदेश सरकारमा जसपाबाट मन्त्री बनेपछि उनलाई जसपाले सांसदबाट हटाउन सिफारिस गरेपछि उनको पद गएको थियो । उनीसहित जसपाका चार सांसदले शंकर पोखरेल नेतृत्वमा लुम्बिनी सरकारलाई साथ दिएको थिए । उनी आउँदो निर्वाचनमा चुनाव लड्ने तयारीका साथ एमाले प्रवेश गरेको बताइएको छ ।