
बुटवलको एक होटलमा महिला र पुरूष मृत अवस्थामा फेला परेका छन् ।
बुटवल–२ फूलबारी नजिकैको कारीकोट होटलमा धादिङका युवा र दाङकी युवती एउटै कोठामा मृत भेटिएका हुन् ।
प्रहरीले उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । दुवै जना आइतवार साँझ होटलमा कोठा ‘बुकिङ’ गरी बसेका थिए ।
कोठा नम्बर १३४ मा धादिङको सिद्धलेक गाउँपालिका–५ कुमपुरका ३८ वर्षीय सीताराम भुजेल झुण्डिएको अवस्थामा र उनी झुण्डिएको कोठाकै ओछ्यानमा दाङकी पुष्पा बुढाथोकी पल्टिएको अवस्थामा शव फेला परेको रूपन्देही प्रहरी प्रमुख रवीन्द्र रेग्मीले जानकारी दिए ।
ती दुवै पुरुष र महिलाबीच कसरी भेट भयो भन्नेबारे केही खुलेको छैन । महिलाको घाँटीमा औंलाको छापजस्तो देखिन्छ । घटना अनुसन्धानमै रहेको एसपी रेग्मीले बताए । पुष्पाका पति वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।
प्रहरीले दाङबाट पुष्पाका आफन्तलाई अनुसन्धानको लागि झिकाएको छ । होटल सञ्चालक बासुदेव लामिछानेले उनीहरूले आफू श्रीमान–श्रीमती भएको र ठेगाना बुटवल–४ उल्लेख गरी कोठा ‘बूक’ गरी बसेका जानकारी दिए ।
‘सोमवार बिहान पौने ५ बजेतिर पुरुष एक्लै होटलबाट निस्कन खोजेका थिए,’ लामिछानेले भने, ‘हामीले महिला पुरुष बास बसेपछि एकैपटक होटलबाट निस्कनुपर्छ भनी कोठामै फर्काएका हौं । ९ बजेसम्म पनि कोठाबाट उनीहरू बाहिर ननिस्केपछि प्रहरीलाई खबर गरेका हौं । भित्रबाट ‘लक’ गरेको कोठामा प्रहरीले ढोका तोडेर हेर्दा दुवै जना मृत अवस्थामा थिए ।’
तन्ना र टावेलमा रगत पोतिएकाले महिलाको हत्या गरी भुजेल आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको रेग्मीले जानकारी दिए । उनीहरू दुवै जना विवाहित हुन् ।
भुजेल र महिलाबीच कसरी भेट भयो भन्नेबारे केही खुलेको छैन । भुजेल मानव अंग बेचबिखन सम्बन्धी अपराधमा ७ वर्ष जेल बसेको पाइएको छ । उनी सुनसरीको झुम्का कारागारबाट केही समयअघि मात्र छुटेका एसपी रेग्मीले बताए । उनीहरूको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा छ ।
गत असार २५ गते बुटवल–३ गोलपार्कस्थित होटल गोलपार्कमा बुटवल–२ की १६ वर्षीया समीक्षा गुरुङ झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । पोस्टमार्टममा किशोरीको झुण्डिएर मृत्यु भएको रिपोर्ट आएको थियो । उनीसँगै होटलमा बसेका बुटवल–३ का २० वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।