२१ जेठ २०८३, बिहीबार
न्यायको खोजीमा भौँतारिएका पीडितहरू

मिटरब्याजीले निचोरेका पीडित– काठमाडौंमा भिख मागेर गुजारा, चन्दा उठाएर आन्दोलन [भिडियो]

भदौ १, २०७९

न्यायका लागि नवलपरासीको सुस्ताबाट १५ दिनअघि काठमाडौं आएका मिटरब्याज पीडितहरू आर्थिक अभावका कारण पसल–पसलमा मागेर खान बाध्य भएका छन् ।

सुरेश बानियाँ, सुरेश कानू, जगदीश कानू, लालबहादुर खड्कालगायत मिटरब्याजीहरूले जालझेल गरी लिँदै नलिएको ऋण पनि तिर्न दबाब दिएको, ब्याजमाथि स्याज थपेर जग्गाजमिन समेत कब्जा गरेको भन्दै करीब १०० जना पीडितहरू काठमाडौं आएका हुन् ।

शुरूका केही दिन गौशालामा त्रिपाल टाँगेर बसेका उनीहरू अहिले कीर्तिपुरमा त्रिपालमुनि नै बस्न बाध्य छन् । न्यायको खोजीमा काठमाडौं बसाइ लम्बिँदा उनीहरूलाई बिहानबेलुका हातमुख जोर्न समेत मुस्किल पर्न थालेको छ । चिनजानका साथीभाइसँग हारगुहार गरेर तथा पसल–पसलमा चन्दा मागेर छाक टारिरहेका छन् ।

नवलपरासी सुस्ताका नरेश चमारले छोरालाई मलेसिया पठाउन स्थानीय साहु सुरेश बानियाँ र सुरेश कानूसँग कुल १ लाख ७० हजार रुपैयाँ ऋण लिएका रहेछन् ।

तर साहुले झुक्याएर ३ लाख ५० हजारको कागज बनाइदिएको उनी बताउँछन् । त्यसको सावाँ र ब्याज गरी १५ लाख रुपैयाँ तिरिसके पनि अझै डेढ लाख बाँकी रहेको भन्दै तिर्न दबाब दिएको उनको गुनासो छ ।

यसै पीडा सुस्ताकै प्रेमचन्द चमारको पनि छ । दुई छोरालाई विदेश पठाउन लिएको ऋणमा साहुले ब्याजमाथि स्याज थपेर उनको खेत समेत कब्जा जमाएर राखेका छन् ।

आफूले लिएको सावाँ र ब्याजबापत ठूलो रकम तिरिसक्दा पनि खेत दृष्टि बन्धकीबाट फुकुवा नभएको उनी बताउँछन् ।

नवलपरासी पश्चिमको बर्दघाट नगरपालिकाका कुलबहादुर थापा आफ्ना बुवाआमालाई झुक्याएर लाखौं ऋणमा डुबाइएको भन्दै न्याय माग्न काठमाडौं आइपुगेका हुन् ।

आफू विदेशमा रहेका बेला साहुले बजारमा घडेरीको लोभ देखाएर बुवाआमालाई ४ लाख ऋण दिएको र त्यसबापत दृष्टि बन्धकीका नाममा आफ्नो ७ कट्ठा जग्गा हडपेको उनको गुनासो छ ।

साहुले अहिले त्यसमा १७ लाख थपेर दिए मात्र दृष्टि बन्धकी फुकुवा गरिदिने भन्दै जग्गा हडपेर बसेको उनले बताए ।

स्थानीय सरकार र प्रशासनले आफूहरूको गुनासो नसुनेकाले बाध्य भएर काठमाडौं आउनुपरेको उनीहरूको भनाइ छ । काठमाडौं बसाई लम्बिँदै जाँदा मागेर गुजारा चलाउनुपरेको पीडितहरूले बताए ।

काठमाडौं आएर दिनदिनै माइतीघरमा धर्ना दिँदा पनि यो पीडाले राज्यको ध्यान तान्न सकेको छैन । त्यही बाटो भएर आवतजावत गर्ने मन्त्रीदेखि प्रधानमन्त्रीसम्म उनीहरूको पीडाप्रति बेखबर छन् ।

हेर्नुहोस्, भिडियो रिपोर्ट :

salt training

कमेन्ट गर्नुहोस्