०२ असार २०८३, मंगलबार

काम नगरेको भन्दै ठेकेदारको एक्जाभेटरमा नगर प्रवक्ताले लगाइदिए ताला !

काम नगरेको भन्दै ठेकेदारको एक्जाभेटरमा नगर प्रवक्ताले लगाइदिए ताला !

सम्झौता अवधिमा कल्भर्ट निर्माणको काम पूरा नगरेको भन्दै बुटवल उपमहानगरपालिका–१५ का वडाध्यक्ष शिव रानाले ठेकेदारको एक्स्काभेटरमा ताला लगाइदिएका छन् ।

उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका रानाले एक्स्काभेटरमा फलामको सिक्री लगाएर ताला लगाइदिएका हुन् ।

बुटवल–१५ सेमलारस्थित तामनगर–फर्साटिकर सडकखण्ड पर्ने कल्भर्ट निर्माणमा ढिलाइ गरेपछि बाध्य भएर आफूले ठेकेदारको एक्स्काभेटरमा ताला लगाइदिएको रानाले बताए । 

‘ठेकेदारले कल्भर्ट निर्माणको जिम्मा लिएको र पटक–पटक आग्रह गर्दा पनि काममा विलम्ब गर्‍यो,’ उनले लोकान्तरसँग भने, ‘काम पूरा नभएपछि जनतालाई सास्ती छ । त्यसैले ताला लगाएको हुँ ।’

उनका अनुसार वडाले ३ पटकसम्म गिट्टी–बालुवा हालेर अस्थायी रूपमा आवतजावत गर्न मिल्ने बनाएको थियो तर हिलोले सडकै हिँड्न नसक्ने अवस्था आएको उनले बताए ।

प्रदेश सरकार मातहतको कार्यक्रमअनुसार महेश इन्जिनीयरिङ सत्यवतीले २ करोड ९९ लाख रुपैयाँमा सडकखण्डमा ४ वटा कल्भर्ट निर्माणका लागि ठेक्का लिएको थियो । गत असार मसान्तसम्म काम सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि अझै सकिएको छैन ।

निर्माण कम्पनीले हालसम्म ३ वटा कल्भर्ट बनाएको छ । एउटा कल्भर्ट बनाउन बाँकी छ । काम अपुरो छाडेको र निर्माणमा विलम्ब गरेको वडाध्यक्षको आरोप छ । ‘स्थानीयले कल्भर्ट निर्माणबारे वडामा आएर धेरै गुनासो गर्नुभएको छ । जनताको गुनासो ठेकेदारले नसुनेपछि ताला लगाइदिएको हुँ,’ वडाध्यक्ष रानाले भने ।

salt training

कमेन्ट गर्नुहोस्