
बाँकेमा छुट्टाछुट्टै घटनामा बुधवार २ जनाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा १/१ जनाको मृत्यु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाको आरम्भ पुनःस्थापना सुधार केन्द्रमा बढैयाताल गाउँपालिका–८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१० मा रहेको सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमै अधिकारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
उनी १ हप्ताअघि मात्रै सुधार केन्द्रमा आएका थिए । अधिकारीको मृत्युका विषयमा अनुसन्धान अघि बढाइएको उनले बताए ।
कोहलपुर–७ स्थित जंगलमा बुधवार १ बालकको शव फेला परेको छ । कोहलपुर–१४ का अन्दाजी १६ वर्षीय बालकको शव फेला परेको प्रहरी नायव उपरीक्षक घर्तीले जानकारी दिए । उनको शरीर र टाउकोमा चोट छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको क्रममा शंकास्पद १ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।