
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस विचार शून्य र उभिनै नसक्ने लुलो भएको टिप्पणी गरेका छन् ।
कुनै बेलाको प्रजातान्त्रिक पार्टी अहिले प्रचण्डको कार्यकर्ता जस्तो भएको उनले आरोप लगाए ।
बुधवार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले कांग्रेस आफैँ उभिन नसक्ने भएको बताएका हुन् ।
‘मैंले कांग्रेस लुलो भयो, ढोडको भएपनि लौरो टेक्नु पर्ने भयो भन्दा म विमारी भएर अस्पतालबाट बाहिर निस्कँदै गर्दा सहयोगीले समातेको फोटो बाहिर ल्याए,’ ओलीले भने, ‘कांग्रेस लुलो भयो भनेको, शेरबहादुर बुढो भएको कुरा गरेको हो र ?’
ओलीले कांग्रेसजस्तो पार्टी माओवादीको पुच्छर बनेको देख्दा आफूलाई आश्चर्य लागेको बताए ।
‘म अस्पताल हुँदा अक्सिजन लिएको बेलाको फोटो छापेर कांग्रेस बलियो छ भन्ने प्रमाणित हुन्छ ?’ ओलीले भने, ‘कांग्रेस लुलो, विचार शून्य छ, कहाँ जाने भन्ने थाहा छैन । कांग्रेस दिशाहीन छ ।’
एमालेले गर्न लागेको राम्रो काम रोक्ने मात्र कांग्रेसको नीति रहेको उनले टिप्पणी गरे ।