
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारुढ गठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन् ।
अध्यक्ष ओलीले संसदले एकपटक विचार गरोस् भनेर राष्ट्रपतिले पठाएको गम्भीर महत्त्वको विधेयकलाई संसद बाहिरै बसेर सत्तारुढ गठबन्धनले निर्णय गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
बुधवार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संसदमा विधेयकको विषयमा बहस समेत गर्न नदिएर सत्तारुढ गठबन्धनले ‘आफूलाई खोपडी नभएको मसले’को रूपमा प्रस्तुत गरेको जिकीर समेत गरे । संसदीय अभ्यासको समेत ख्यालै नगरी सत्तारुढ गठबन्धनले आफ्नो बहुमतको तागत देखाइदिने भन्दै विधेयक राष्ट्रपतिलाई जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेको अध्यक्ष ओलीको भनाई थियो ।
सत्तारुढ गठबन्धनको निर्णयमा बहुमतको घमण्ड चढेको उल्लेख गर्दै उनले त्यस्ताहरूको हातबाट देश चल्न नसक्ने बताए । ओलीले भने, ‘नागरिकता विधेयक राष्ट्रपतिले संसदमा एकपटक विचार गरोस्, कमीकमजोरी नरहोस् । यो धेरै गम्भीर महत्त्वको प्रश्न हो भनेर फिर्ता पठाउनु भएछ । संसदमा होइन, बाहिर बसेर राष्ट्रपतिले फिर्ता पठाउनु भएपछि पाखुरी छामेर राष्ट्रपतिले फिर्ता पठाउने ? जस्ताको तस्तै फिर्ता पठाउने, हिजो निर्णय गरे । संसदमा छलफल हुनै बाँकी छ । के छलफल हुन्छ अब ? पाखुरेहरूले पाखुराको भाषा बोलिसके हिजै– जस्ताको तस्तै पठाइदिने । हाम्रो बहुमतको तागत देखाइदिने । को हो राष्ट्रपति, संसदलाई विचार गर्नु भन्ने ? यस्ता घमण्डीहरूले तर्क छैन, तार्किकता होइन । बल, पाखुरा, मसलका कुरा गर्नेहरू । यस्तो देश चलाउँछन् ? देशको दूर्भाग्य हो यो । यस्तो सरकार छ देशमा । यो संसदीय अभ्यास नै होइन । संसदमा कांग्रेस होला, माओवादी केन्द्र भन्ने होला । माधव नेपालको पार्टी होला । गठबन्धनको पार्टी होला नि संसदमा । त्यहाँ बहस गरे हुन्छ नि ! अनि बाहिर यसै फिर्ता गर्ने निर्णय त भइसक्यो उनीहरूको । कस्तो संसदीय अभ्यास । विचारविमर्श नगर्ने, सोझै पठाई दिने–जस्ताको तस्तै । कुरा राम्रो, नराम्रोको मतलब छैन । हाम्रो पाखुराको कुरा हो यो । यस्तालाई सरकारका राख्नुहुन्छ नेपाली जनताले ? यी खोपडीमा टाउकामा नभएका, पाखुरामा मसल मात्रै भएका हुन्, खोपडीहीन मसले ।’
अध्यक्ष ओलीले कांग्रेस लोकतान्त्रिक पार्टी नरहेको दाबी समेत गरे । प्रचण्डको कार्यकर्ता बनेर हिँडिरहेको कांग्रेस आचरण, नीति र व्यवहार सबै हिसाबले लोकतान्त्रिक हुनै नसक्ने उनको तर्क थियो । ओलीले विगतमा पनि कांग्रेसले देशविरोधी कार्य गर्दै आएको र पछिल्लो समय यसले लोकतान्त्रिक आचरण र व्यवहार समेत गुमाएको आरोप लगाए । उनले माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी भएकाले त्यसको बारेमा टिप्पणी गरिरहन आवश्यक नै नरहेको दोहोर्याए ।