
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्न सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको बैठकले सिट बाँडफाँटको प्रगतिबारे शीर्ष नेतालाई जानकारी गराउने सहमति गरेको छ ।
बुधवारको बैठकपछि नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटबारे अहिलेसम्मको प्रगति शीर्ष नेतालाई जानकारी गराउने सहमति भएको जानकारी दिए ।
बैठकमा सिट बाँडफाँटको प्रारम्भिक प्रस्ताव नआएपछि गठबन्धनले बनाएको कार्यदलको बुधवारको बैठक अनौपचारिक रूपमै सकिएको छ । कार्यदलका संयोजक तथा कांग्रेसका नेता कृष्ण सिटौलालाई सिट बाँडफाँटको प्रारम्भिक प्रस्ताव ल्याउने जिम्मा दिइएको थियो ।
उनलाई दिइएको २ दिनको समयमा सिटौलाले शीर्ष नेतालाई भेटेनन् । सोही कारण उनले प्रारम्भिक प्रस्ताव तयार गर्न सकेनन् ।
कार्यदलका सदस्यहरूले बुधवार अनौपचारिक रूपमा छलफल गर्दै संयोजक सिटौलाले शीर्ष नेताहरूसँग भेट गर्ने र आवश्यक परे संयुक्त बैठक पनि गर्ने सहमति गरेको कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
‘दलहरूबीचमा पनि छलफल गरेर एकअर्काका अप्ठ्यारो बुझ्ने सहमति भएको छ,’ कार्कीले भने ।
अहिलेसम्म भएको छलफलबारे नेताहरूलाई जानकारी गराउने र एउटा निर्णयमा पुग्ने कार्कीले बताए ।