०४ साउन २०८३, सोमबार

इन्द्रजात्रा व्यवस्थापनबारे पर्यटनमन्त्री श्रेष्ठद्वारा छलफल

इन्द्रजात्रा व्यवस्थापनबारे पर्यटनमन्त्री श्रेष्ठद्वारा छलफल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्रा व्यवस्थापनबारे सरोकारवालासँग आज छलफल गरेका छन् । 

भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रामा सुरक्षालगायत अन्य पक्षको व्यवस्थापनबारे मन्त्री श्रेष्ठले काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकायका अधिकारी, गुठी संस्थान, स्थानीय गुठीयारका साथै अन्य सरोकारवालासँग छलफल गरेका हुन् । 

काठमाडौँवासीको महत्वपूर्ण चाडका रूपमा रहेको इन्द्रजात्रालाई विश्वव्यापीरूपमा चिनाए पर्यटन उद्योगको विकासमा पनि सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताए । इन्द्रध्वजोत्थान पर्व राष्ट्रिय संस्कृतिका रूपमा विकसित भएको बताउँदै उनले इन्द्रजात्रा अवलोकनमा सहभागी हुनेलाई सहज हुनेगरी सबै प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति, मन्त्रीहरु र नगरवासीहरु उपस्थित भई इन्द्रध्वजोत्थान गर्ने गरिन्छ । साथै विश्वका विभिन्न सहरका मेयरसहित विदेशी पाहुनालाई पनि निमन्त्रणा गरिएको छ । इन्द्रजात्रासँगै गणेश, भैरव र कुमारीको रथयात्रा, नाचगान, झाँकी व्यवस्थापनका साथै ट्राफिक र सुरक्षा व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने मन्त्री श्रेष्ठले बताए । 

नेपाली मौलिक मूर्त–अमूर्त संस्कृति जीवन्त राख्ने र विश्वमा नै यसको महत्व फैलाउने अवसरका रूपमा इन्द्रजात्रालाई लिनुपर्ने उनको भनाइ छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले इन्द्रजात्रा व्यवस्थापनमा महानगरपालिकाले गरिरहेको कामबारे जानकारी दिए । 

आठ दिनसम्म मनाइने इन्द्रजात्रा पर्वमा वसन्तपुर क्षेत्रमा पुलकिशी, श्वेत भैरव, आकाश भैरव, इन्द्र, गणेश, कुमारीलगायतको जात्रा देखाइनेछ । कुमारी, गणेश र भैरवको रथारोहण, देवी र लाखे नाच प्रदर्शनलगायत उत्वस गरिनेछ । राष्ट्रप्रमुख जात्रामा सरिक भएर टीका र प्रसाद ग्रहण गर्दा देशमा सुख, शान्ति हुन्छ भन्ने मान्यता रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्