
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् वितरण क्षेत्रको चुहावट रोक्नु चुनौतीको विषय रहेको बताएकी छन् । आज नेपाल विद्युत् प्राधिकरणको ३७औँ वार्षिकोत्सवका अवसरमा मन्त्री भुसालले आगामी दिनमा वितरणतर्फको चुहावट घटाउनका लागि अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयन गर्न जरुरी रहेको र यसका लागि वितरण संरचना सुधारमा ध्यान दिन आवश्यक रहेको बताइन् ।
अघिल्लो वर्ष विद्युत् चुहावट नियन्त्रणबाट करिब रु दुई अर्ब आम्दानी भएको पनि उनले स्मरण गराइन् । देश विकासका लागि ऊर्जा क्षेत्रको थप विकास नभएसम्म आर्थिक फड्को मार्न कठिन हुने उनले धारणा राखिन् ।
विद्युत् उत्पादन बढ्दै जाँदा आन्तरिक खपत बढाउने कार्यमा ध्यान दिन पनि मन्त्रीले प्राधिकरणलाई आग्रह गरिन् ।
सोही अवसरमा मन्त्रीले प्राधिकरणका कर्मचारीलाई बोनस नमाग्न आग्रह पनि गरिन् । प्राधिकरण सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री भुसालले यसै वर्ष मात्रै सरकारले कर्मचारीलाई १५ प्रतिशत तलब बढाएको स्मरण गर्दै थप आर्थिक सहयोगको माग नराख्न आग्रह गरेकी हुन् ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले हाल करिब ९६ प्रतिशत जनताले विद्युत्को सेवा प्राप्त गर्ने गरेको जानकारी दिए । हाल ४२ जिल्ला पूर्णरूपमा विद्युत् सेवा पुगेको जानकारी दिँदै उनले आगामी दुई वर्षभित्र शतप्रतिशत जनतालाई विद्युत्को सेवा प्रदान गर्ने सरकारको लक्ष्य पूरा गर्नका लागि प्राधिकरण दिनरात लागिरहेको उनले बताए ।