
जहाज यात्राका क्रममा अधिकांश यात्रु शान्त र मर्यादित हुन्छन् । विमानको उडान संवेदनशील भएकाले सबैले सहयोग पुर्याउनुपर्छ तर साइप्रसबाट म्यानचेस्टर गइरहेको जहाजमा एक महिलाले कपडा फुकालेर हंगामा गरेको घटना सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३० वर्षीया ती महिलाले कपडा फुकालेर विमानमा विस्फोटक पदार्थ भएको दाबी गरेकी थिइन् । ती महिला ककपिटतिर जान खोज्दा ३५ वर्षीय यात्रु ओ ब्रायनले रोकेका थिए ।
महिलाले हंगामा गरेपछि विमान गन्तव्यमा नपुगी पेरिसमा आकस्मिक अवतरण गरिएको थियो । ती महिलाले आफ्ना परिवारका सदस्य आतंककारी संगठन आईएसआईएसका सदस्य रहेको दाबी समेत गरेकी थिइन् ।
पेरिसमा अवतरणपछि ती महिलालाई प्रहरीको जिम्मा लगाइएको छ । ती महिलाको दाबी र व्यवहारले अन्य यात्रु त्रसित बनेका थिए ।