
बिहीवारदेखि शुरू भएको छैटौँ अन्तर्राष्ट्रिय महिला ब्यापार मेलामा आफ्नो निर्वाचन क्षेत्रका उद्यमी महिलाहरू पनि सहभागी भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा दंग परेका छन् । हुम्ला, जुम्ला, डडेलधुरालगायतका विकट क्षेत्रका महिला उद्यमीहरू मेलामा सहभागी भएको भन्दै उनले खुसी व्यक्त गरेका हुन् ।
बिहीवार ललितपुरमा मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘जम्ला, हुम्ला, डडेलधुराजस्ता विकट जिल्लाहरूबाट पनि उद्यमशील महिलाहरू सहभागी भई आफ्ना उत्पादनहरू प्रदर्शनीमा ल्याएको जानकारी पाउँदा खुशी लागेको छ ।’ देउवाकाे निर्वाचन क्षेत्र डडेलधुरा हाे ।
उनले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको भन्दै सरकार निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको बताए ।
‘निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादन, रोजगारीको सिर्जना बढेको छ । अर्थतन्त्रका समस्या र चुनौतीको सामना गर्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई सुचारु राख्न सरकारलाई निजी क्षेत्रले उचित समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो छ’, उनले भने, ‘यस्ता व्यापार मेलाहरूमा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुहरूलाई प्राथमिकताका साथ समावेश गरेर वस्तुहरूको प्रचारप्रसार तथा लगानी विस्तार गर्न आवश्यक छ । यसले दिगो विकासको लक्ष्यमा मद्दत पुग्नेछ । यसका लागि सरकार आवश्यक सहयोग गर्न तयार छ ।’
प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न उद्योगी, व्यवसायीहरूसँग आग्रह गरे । उनले महिला उद्यमशीलता प्रवद्र्धन क्षेत्रलाई थप प्रभावकारी बनाई रचनात्मक भूमिका निर्वाह गर्न जरुरी रहेको पनि बताए । उनले स्वदेशमै उपलब्ध कच्चा पदार्थ, स्रोत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमा उत्पादित सामग्री निर्यात गर्ने र विदेशी मुद्राको आर्जन, रोजगारी विस्तार गर्नमा ध्यान दिनुपर्ने बताए ।
भदौ ६ गतेसम्म सञ्चालन हुने व्यापार मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरूको सहभागिता रहने छ । नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने उद्धेश्य महासंघले राखेको छ ।
मेलामा हस्तकलाका सामानहरूः प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरू, हाते कागजका वस्तुहरू, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकारहरू, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडिबुटी, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरूका स्टलहरू प्रदर्शनीमा राखिएका छन् ।