२१ जेठ २०८३, बिहीबार

वैवाहिक अंगीकृतको विषय पछि परिमार्जन गर्न सकिन्छः वर्षमान पुन

वैवाहिक अंगीकृतको विषय पछि परिमार्जन गर्न सकिन्छः वर्षमान पुन
फाइल तस्वीर

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको आरोप लगाएका छन् । 

नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको विधेयक संसदबाट पारित गराउन सहयोग गर्न उनले एमालेलाई आग्रह गरे । बिहीवार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैवाहिक अंगीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने बताए । अहिलेलाई सो विधेयक पारित गराउने काममा सबै राजनीतिक दलहरूले सहयोग गर्नुपर्ने उनले बताए । 

‘जसले जन्मको आधारमा नागरिकता प्राप्त गरिसकेको छ । उहाँहरुका छोराछोरीहरु अथवा त्यस्ता नागरिकका छोराहरुले नागरिकता नपाएको अवस्थामा विदेश भ्रमणको अवस्था होला वा कुनै बैंक एकाउन्टको कुरा होला । एउटा सामान्यसामान्य दैनिक जिवनका कुराहरु, अप्ठ्याराहरु भोगिराखेको सन्दर्भमा फुकाउनका लागि ल्याइएको हो र अरु केही जरुरी कुराहरू मात्रै यसमा राखिएको छ’ उनले भने, ‘वैवाहिक अंगीकृतलगायतका विषयमा फेरि परिमार्जन गर्न सकिन्छ । नागरिकताजस्तो संवेदनशील विषयलाई राजनीतिक विषय नबनाऔं । बरु, परिमार्जन गरेर जाने विषयमा सँगसँगै काम गरौं भन्ने कुरा पनि म प्रतिपक्ष दलका माननीयजीहरूलाई आग्रह गर्दछु ।’

नेता पुनले केपी ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको विधेयकलाई वर्तमान सरकारले अपनत्व ग्रहण नगरेर फिर्ता लिनु संसदीय प्रक्रियाभित्रकै कुरा भएको उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नमिल्ने तर्क गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्