१६ असार २०८३, मंगलबार

पाटनमा भीमसेन जात्राको तयारी शुरू

पाटनमा भीमसेन जात्राको तयारी शुरू

पाटन दरबार परिसरमा आउँदो शनिवार मनाइने भीमसेन खटजात्राको तयारी शुरु भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन उक्त खटजात्रा हुने भएसँगै सोको तयारी अघि बढेको हो । बिहीवार दिनभरिमा पित्तलको खट बनाएर शनिवार हुने जात्राका लागि तयारी भइरहेको भीमसेन जात्रा सञ्चालक समितिका संयोजक किरणमान प्रधानले बताए । 

उनले भने, ‘मुलुकमा अझै कायम रहेको कोभिड महामारीका कारण विगत दुई वर्ष अघिदेखि हामीले यो जात्रा भव्यताका साथ मनाउन पाएका थिएनौँ, यस पटक भने हर्षाेल्लासका साथ मनाउने तयारी गरिरहेका छौँ ।’

सो जात्रा नेवार समुदायका व्यापारीका लागि सबैभन्दा ठूलो पर्व रहेको प्रधानले जानकारी गराए । सो जात्राका दिन उक्त खटमा बिराजमान भएका भीमसेन मूर्तिलाई पाटनको मंगलबजार हुँदै हखा–सौगल–सुन्धारा– ओकुबहाल–थपाहिटि–बालकुमारी–चक्रबहिल–हौगोल–टिँछु गल्ली–इखालखु–बालखा–पूर्णचण्डी–गाबहाल–बलीम्ह–पिम्बहाल–सुलिम–बालिफल–नकबहिल–क्वालखु–झटापोल–कुम्भेश्वर हुँदै कोबाहाल भएर स्वठः एवं पुनः मंगलबजार भीमसेन मन्दिर परिसरमा उक्त खट ल्याएर राखिने गरिएको समितिका सहसंयोजक वीरेन्द्रलाल श्रेष्ठले बताए । 
उनले भने, ‘यस दिन राति ७.३० बजेपछि मात्र जात्रा सुरु गरी नगर परिक्रमा गर्दै जाने भएकाले राति १२ देखि १ बजे मात्र खटजात्रा सकिन्छ ।’ सो दिन जात्राको खट बोक्न सबैजसो व्यापारी पाटन आउने श्रेष्ठले जानकारी गराए । सो खटलाई जात्राको दिन बिहान मात्र भीमसेन मन्दिर अगाडि लगेर राखिने समितिका कोषाध्यक्ष हरिनरसिंह अमात्यले बताए । 

उक्त दिन सो काम सम्पन्न भएसँगै सर्वसाधारणलाई जात्रा सुरु नगरुनजेलसम्म मूर्तिको पूजा तथा आरधना गर्न दिइने अमात्यले जानकारी गराए । जात्रामा काठमाडौं उपत्यकाका साथै भक्तपुर, धुलिखेल एवं बनेपाबाट राति भक्तजन सहभागी हुने गरेका स्थानीय सिद्धिराम श्रेष्ठले बताए । रासस
 

salt training

कमेन्ट गर्नुहोस्