काठमाडौँ, १५ साउन- माओवादी केन्द्रले प्रदेश २ को स्थानीय चुनाव केन्द्रित तयारीलाई आक्रामक बनाउने रणनीति बनाएको छ । सोमबार राजधानीमा प्रदेश २ का ८ जिल्ला इञ्चार्ज र संयोजकसहित पोलिटब्युरो नेताहरूको भेला तोकेको माओवादी केन्द्रले बृहत्तर चुनावी रणनीति र प्रचारात्मक प्रशिक्षण गर्ने भएको हो । संविधान संशोधन विधेयक पारित गर्ने प्रयासमार्फत संविधानको स्वीकार्यता बढाउन आफूले पहल गरिरहेको सन्देशसहित कार्यकर्ता स्थानीय तहमा पठाउने तयारीका लागि भेला डाकिएको नेताहरूले जानकारी दिएका छन् । भेलालाई अध्यक्ष पुष्पकमल दाहाल आफैंले सञ्चालन गर्ने भएका छन्, आजको कान्तिपुरमा खबर छ ।
सिरहाबाट निर्वाचित र ‘अरूले भन्दा मधेस मुद्दा बढी बुझ्ने नेता’ का रूपमा माओवादीले अध्यक्ष दाहालकै नेतृत्वमा प्रदेश २ को प्रचारात्मक अभियान लैजान लागेको हो ।
चार वर्षयता चर्चै हराएको एक मधेस प्रदेशबारे यसअघि नेता नारायणकाजी श्रेष्ठले गरेको टवीटका कारण अकस्मात राजनीतिक वृत्तको ध्यान तानिएको थियो । प्रदेश २ का इञ्चार्जसमेत रहेका हेडक्वार्टर नेता मातृका यादवको नाम नलिई श्रेष्ठले गरेको टवीटका कारण यसबारे संशय जन्माइदिएको थियो । श्रेष्ठको टवीटमा भनिएको छ, ‘हाम्रो पार्टी एक मधेस प्रदेशको विरुद्धमा दृढ छ । यो अनावश्यक मात्रै होइन, हानिकारक पनि छ । यसमा कुनै भ्रम नरहोस् ।’ तर पार्टीकै अर्का नेताले असान्दर्भिक ढंगले उठेका चर्चालाई पार्टीकै जिम्मेवार नेताबाट खण्डन हुँदा झन् नकारात्मक प्रचार हुन पुगेको भन्दै आलोचना गरे ।

केही दिनअघि यादवसमेत सहभागी ‘मधेसी भ्वाइस एसेम्ब्ली’ का नाममा राजधानीमा आयोजित भेलामा एक मधेस प्रदेशको मुद्दा ब्यँुताउनुपर्ने प्रसंग उठे पनि त्यसबारे कुनै निर्णय नभएको नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले जानकारी दिए ।
मधेसी भ्वाइस एसेम्ब्ली माओवादी नेता यादव र नेसपा गजेन्द्रवादीका तिवारीसहित राजपा नेता महेन्द्र राय यादव, नेपाल संघीय समाजवादी पार्टी अध्यक्ष रिजवान अन्सारी र नयाँ शक्ति पार्टीका रामकेवल साह सदस्य रहेको पाँच सदस्यीय ‘लुज नेटवर्क’ रहेको तिवारीले प्रस्ट्याए । तर माओवादी नेता श्रेष्ठले एसेम्ब्लीका नाममा भएका गतिविधिप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै यादवमाथि कारबाही माग गरेका छन् । स्रोतका अनुसार उनले गलत र अव्यावहारिक माग राख्दै मधेसको समस्या गिजोल्न खोजेको भन्दै यादवलाई कारबाही गर्न आइतबारको हेडक्वार्टर बैठकमा प्रस्ताव लैजाने तयारी गरेका छन् ।