
शुभशेर राईको परिवारले ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङका लागि १६ लाख ९० हजार ९ रुपैयाँ रकम हस्तान्तरण गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षा सेवा गरेका स्व. शिक्षक राईको सम्मान तथा सम्झनामा परिवारका १९ सदस्यले संकलन गरेको रकम आइतवार प्रतिष्ठानलाई प्रदान गरेका हुन् ।
स्व. शिक्षक राईको वार्षिक पुण्यतिथिको अवसर पारेर दिक्तेलमा आयोजित कार्यक्रममा परिवारका सदस्यबाट संकलन भएको एकमुष्ट रकमको चेक स्व. शिक्षक राईकी पत्नी जम्मासरी र जेठा छोरा देवविक्रमले प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष कुमार पराजुलीलाई हस्तान्तरण गरेका हुन् ।
परिवारका सदस्यले प्रदान गरेका रकमबाट ११ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष खडा गरिने प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा स्व. शिक्षक राईको परिवारका ती सदस्यले आफ्नो कमाइको केही रकम प्रतिष्ठानलाई दिने जनाउँदै स्वघोषणा पत्रमा हस्ताक्षर समेत गरेका छन् ।
स्व. शिक्षक राईको जेठा छोरा देवविक्रम अध्यक्ष रहेको ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ गत साउन ३० गते जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको थियो । ११ सदस्यीय समिति रहेको प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा कुमार पराजुली, उपाध्यक्षमा खगेन्द्र राई, महासचिवमा लक्ष्मीप्रसाद खनाल, सचिवमा नूरकाजी सैंजु र कोषाध्यक्षमा सन्तोष राई रहेका छन् ।
प्रतिष्ठानका लागि जिल्लास्थित विभिन्न संघ तथा संगठन र व्यक्तिले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । स्मृति प्रतिष्ठानले जिल्लाको शैक्षिक सुधारको क्षेत्रमा काम गर्ने जनाइएको छ ।
विक्रम संवत् २००७ भदौ २५ गते जन्मिएका शुभशेरको विक्रम संवत् २०७८ भदौ ५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित घरैमा निधन भएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका पूर्व अध्यक्ष समेत रहेका स्व. शिक्षक राईले खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीस्थित विणा माविबाट शिक्षण सेवा शुरू गरेर जिल्लाका विभिन्न विद्यालयमा सेवा गरेका जनाइएको छ ।
प्रतिष्ठानले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने जिल्लाका १ जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कृत तथा ४ जनालाई सम्मान गरेको छ । जिल्लाका उत्कृष्ट शिक्षकका रूपमा खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित सावाकाली माविका प्रधानाध्यापक प्रेमकुमार थापामगरलाई नगद ५५ हजार ५५५ रुपैयाँ राशिको ‘शुभशेर राई खोटाङ जिल्ला उत्कृष्ट शिक्षक पुरस्कार २०७९’ प्रदान गरेको हो ।
‘शुभशेर राई खोटाङ जिल्ला उत्कृष्ट विद्यालय व्यवस्थापन सम्मान २०७९’ ज्योति मावि जालपाका अध्यक्ष प्रतिमान राई, ‘शुभशेर राई खोटाङ जिल्ला दीर्घसेवी सेवा सम्मान’ दिक्तेलका शिक्षिका शारदादेवी गेलाल, ‘शुभशेर राई खोटाङ जिल्ला उत्कृष्ट शिक्षक नेतृत्व सम्मान’ नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका पूर्व अध्यक्षद्वय मेगनाथ घिमिरे र मनकाजी राई तथा ‘शुभशेर राई खोटाङ जिल्ला उत्कृष्ट प्रधानाध्यापक सम्मान’बाट त्रिभुवन मावि ऐसेलुखर्कका प्रधानाध्यापक टेकबहादुर क्षेत्रीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय महासचिव हंसबहादुर शाही, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दङ्गाल, उपसचिव दीपनारायण रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगर प्रमुख तीर्थराज भट्टराई लगायतले संयुक्तरुपमा दोसल्ला ओढाएर नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका हुन् ।