
श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ परेकी छन् । बागलुङको निसिखोला गाउँपालिका–४ कालीमाटीको खोला किनारमा बस्ने २२ वर्षीय कुमारी कामीले श्रीमानको हत्या गरेको अभियोगमा भदौ ४ गते कास्कीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरीका अनुसार असार २५ गते बेलुका सवा ११ बजे श्रीमान् २५ वर्षीय तुलबहादुर विकको घाँटी काटेर हत्या गरेकी थिइन् । उनको श्रीमानको टाउँको नभएको शव निसि खोलाको किनारमा फालेको प्रहरीले जनाएको छ । प्रहरीले शव भदौ १ गते फेला पारेको थियो ।
कुमारी कामीले प्रहरीलाई दिएको बयान अनुसार उनले श्रीमानलाई घनले हानेर बेहोस बनाएपछि खुकुरीले टाउँको छिनाएर खोलामा फालेको बताएकी छन् ।
घटना थाहा हुँदाहुँदै पनि खबर नगरेको अभियोगमा प्रहरीले उनकी बहिनी १८ वर्षीया मनिषा विकलाई पनि पक्राउ गरेको जनाएको छ । उनीहरूलाई जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।