
रुस र युक्रेनको द्वन्द्व चलिरहँदा थप निराशाजनक घटनाक्रमहरू विकसित भइरहेका छन् । शनिवार (२० अगस्ट) राति रुसको राजधानी मस्कोबाहिर भएको एक घटनाले यस द्वन्द्वलाई थप चर्काउन सक्ने अनुमान गरिएको छ ।
रुसका उग्रदक्षिणपन्थी राजनीतिक टिप्पणीकार तथा चिन्तक अलेक्जेन्डर डुगिनकी छोरी दारिया डुगिनाको कार बम विस्फोटमा मृत्यु भएको छ । अलेक्जेन्डर र दारिया दुवै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका समर्थक हुन् । उनीहरू पश्चिमविरुद्ध विषवमन गरिरहेका हुन्छन् ।
मस्कोको बाहिरी भागमा ट्रेडिसन यान्ड हिस्ट्री नामक एक समारोह चलिरहेको स्थानमा यो दुःखद् घटना भएको हो । उक्त कार्यक्रममा डुगिनले सम्बोधन गरेका थिए ।
कार्यक्रम सकिएपछि पितापुत्री सँगै एउटै गाडीमा जाने योजना थियो । तर पछि दुवैजना बेग्लाबेग्लै गाडीमा जाने निर्णय गरे ।
डुगिनाले चलाएको टोयोटा कार मस्को राजमार्गमा विस्फोट भई आगोको गोलामा परिणत भएको थियो । गाडीमा पहिले नै बम राखिएको र डुगिनाले गाडी चलाएको केही क्षणमा नै विस्फोट भएको बताइएको छ ।
खासमा त्यो बम डुगिनलाई लक्षित गरी राखिएको तर उनकी छोरी त्यसको शिकार बनेको बताइएको छ । विस्फोट भएलगत्तै डुगिनाको मृत्यु भएको थियो । गाडीका टुक्राहरू चारैतिर छरिएको र त्यो सडकछेउको पर्खालमा ठोकिएको प्रत्यक्षदर्शीहरूले बताए भनी सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।
डुगिनले रुसको नेतृत्वमा युरेसियाली विशाल भूक्षेत्रको सर्वोच्चताको परिकल्पना गर्ने गरेका थिए । पश्चिम द्रुत गतिमा पतनको दिशामा अघि बढेको भन्दै परम्परागत तथा अनुदारवादी पद्धतिमा चल्ने रुस नै अब विश्वको केन्द्रमा रहने उनको भनाइ छ ।
उनकी छोरी दारिया पनि यस्तै किसिमको सोच राख्छिन् । पितापुत्री दुवैले युक्रेनविरुद्ध हिंसाको समेत पैरवी गर्ने गरेका थिए । विशेषगरी सन् २०१४ मा भएको युरोमैदान कूपछि युक्रेनविरुद्ध रुसले हिंसात्मक कारवाही गर्नुपर्ने उनीहरू बताउने गर्थे ।
पश्चिमा सञ्चारमाध्यमहरूले डुगिनलाई पुटिनको मस्तिष्कका रूपमा चित्रण गर्ने गरेका थिए । पुटिन र उनका भित्रियाहरूलाई डुगिनले सल्लाह दिने गरेको पश्चिमाहरू बताउँछन् । शायद त्यसै आधारमा पश्चिमले पितापुत्री दुवैमाथि प्रतिबन्ध लगाएको छ ।
तर डुगिनको प्रभाव रुस सरकार (क्रेमलिन) मा रहने गरेको कुरा सत्य नभएको रुसीहरूको भनाइ छ । पुटिनले डुगिनलाई कहिले पनि नभेटेको उनीहरूले ठोकुवा गर्छन् ।
रुसी टिप्पणीकार आन्द्रेई मार्त्यानोभ, आन्द्रेई र्याबकोभ, ओलेग बोन्दारेन्कोका साथै अमेरिकी विश्लेषक मार्क स्लेबोदा, अन्तर्राष्ट्रिय सम्बन्धका जर्मन प्राध्यापक गेर्हार्ड म्यान्गोट लगायतले डुगिन रुसी राजनीतिका सामान्य व्यक्ति भएको बताएका छन् । रुसी समाजमा डुगिनको कुनै पनि प्रभाव नपरेको उनीहरूको भनाइ छ ।
हुन पनि पुटिन स्वयंले डुगिनका कुरालाई कहिले पनि उद्धृत गरेको सुनिएको छैन । बरू पुटिनले इभान इल्यिन र अलेक्जेन्डर सोल्झेनित्सिन जस्ता राष्ट्रवादी चिन्तकहरूको नाम बारम्बार उद्धृत गर्ने गरेका छन् ।
जे भए पनि पश्चिममा डुगिन अतिवादी रुसी चिन्तकका रूपमा प्रख्यात छन् । युक्रेनमाथि हिंसा गर्न उनले रुसीहरूलाई उत्तेजित पार्ने भाषण पनि गरेका हुन् । त्यसैले उनीमाथि (आक्रमणको शिकार छोरी बनेको भए पनि) युक्रेनीहरूले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ ।
तर युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोल्याकले यस घटनामा युक्रेनको कुनै हात नरहेको बताएका छन् । आफूहरू रुस जस्तो आपराधिक र आतंकवादी राष्ट्र नभएको तथा अर्काको भूमिमा गएर व्यक्तिहत्या गर्ने नगरेको उनले दाबी गरे ।
मस्कोमा रहेका अमेरिकी विश्लेषक एन्ड्रु कोरिब्को चाहिँ किएभले नै यो आक्रमण गराएकोमा रुसीहरू विश्वस्त रहेको बताउँछन् । यस घटनाले युक्रेन द्वन्द्वलाई थप चर्काउने उनको भनाइ छ ।
पुटिनमाथि डुगिनको प्रभावका बारेमा पश्चिमले चलाएको भाष्यलाई विना सोचविचार अँगाल्दै युक्रेनले डुगिनमाथि आक्रमण गरी पुटिनलाई सन्देश दिन चाहेको कोरीब्को लेख्छन् । अझ युक्रेनी भूमिमा रुसविरुद्ध परोक्ष युद्ध चलाएको अमेरिकाले नै यो आक्रमण गराएर पुटिनलाई युद्धबाट विमुख गराउन खोजेको उनको कथन छ ।
तर अर्का एक रुसी टिप्पणीकार इल्या पोनोमारेभले यो काम युक्रेनले नभई नेसनल रिपब्लिकन आर्मी (एनआरए) ले गराएको दाबी गरेका छन् । उनले आफ्नो युट्युब च्यानल फेब्रुअरी मर्निङमा पुटिन सरकारलाई अपदस्थ गर्ने उद्देश्य लिएको एनआरएले घातक विस्फोट गराएर दारिया डुगिनाको ज्यान लिएको बताए ।
एनआरएका विषयमा द गार्डियन पत्रिकाका ड्यान सब्बाग र ल्युक हार्डिङले बेलायती थिंकट्यांक संस्था च्याटम हाउसका रुसविशेषज्ञ केइर जाइल्सलाई सोध्दा उनले यो पुटिनविरोधी वास्तविक अभियान हो कि रुसी शैलीको षड्यन्त्र सिद्धान्त हो थाहा पाउन समय लाग्ने बताए ।
तर धेरैजसो विश्लेषकहरू यस आक्रमणमा युक्रेनी गुप्तचर संस्था एसबीयूको हात रहेको विश्वास गर्छन् । त्यसैले युक्रेनमाथि रुसको प्रत्याक्रमण कारवाही हुन सक्ने उनीहरूको भनाइ छ ।
आरटीकी सम्पादक मार्गरिटा सिमोन्यानले युक्रेनका निर्णायक केन्द्रहरूमा आक्रमण गर्नुपर्ने सुझाव रुसी सरकारलाई दिएकी छन् । त्यो भनेको एसबीयू समेत हो ।
युक्रेनीहरू पनि डुगिनाको हत्यापछि रुसबाट खतरनाक कारवाही हुन सक्ने विश्वास गर्छन् । जेलेन्स्की स्वयंले पनि बुधवार मनाइन लागेको युक्रेनको ३१औं स्वतन्त्रता दिवसको अवसरमा रुसले कुनै क्रूर सैन्य कारवाही गर्न सक्ने सम्भावना आंैंल्याएका छन् । त्यसैलाई विचार गरी आजदेखि चार दिनसम्मका लागि राजधानी किएभमा मानिसहरूलाई ठूलो भेला गर्न रोकिएको छ ।
रुसको गुप्तचर निकाय एफएसबीले डुगिनाको हत्यामा युक्रेनको हात छ कि छैन भनी अनुसन्धान गरिरहेको छ । त्यहाँको परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले घटनामा युक्रेनको संलग्नता भेटिएमा त्यसलाई राज्यसमर्थित आतंकवाद मानिने बताइन् । त्यसको समुचित दण्ड रुसले दिने उनको भनाइ छ ।
रुसले के दण्ड देला भन्ने विषयमा अनेकथरी अनुमान गरिएका छन् । डुगिन रुस सरकारसँग जोडिएका पात्र नभएकाले रुसले उनीमाथिको आक्रमणकै अनुपातको शत्रुलाई सजाय नदिने बताइएको छ ।
पश्चिममा रुसको प्रतीकका रूपमा रहेका तथा सुरक्षा सुविधा नपाएका डुगिनमाथिको आक्रमण ‘देख्यौ, तिमीहरूको भूमिमा पसेर समेत हामी हान्न सक्छौं’ भन्ने सन्देश दिनका लागि मात्र भएको एकथरीको भनाइ छ ।
क्राइमियामा रहेको रुसको कृष्णसागर बेडाको मुख्यालयमा भएको विस्फोट तथा डोनेत्स्क क्षेत्रमा रुसी सैनिकहरूमाथि भएको रासायनिक आक्रमणसँगै दारिया डुगिनाको हत्याले युक्रेन (तथा पश्चिम) ले अब रुसमाथि विषम (एसिमेट्रिक) आक्रमण गर्न खोजिरहेको संकेत दिएको छ । यस्तो आक्रमणले रुसको विजय संकल्पलाई विचलित बनाउन त सक्दैन तर प्रतिकार भइरहेको सानोतिनो सन्देश चाहिँ दिन्छ ।
यस्तो स्थितिमा रुसले तेल र ग्यासको पाइपलाइन बन्द गरिदिने वा बमवर्षक विमान उडाएर युक्रेनीहरूलाई मार्ने काम नगर्ने रुसी विश्लेषकहरू बताउँछन् । बरू युक्रेनका सुरक्षानिकायका मानिसलाई उनीहरूले तारो बनाउन सक्छन् ।
शायद त्यही कारवाहीअन्तर्गत युक्रेनको किरोभोह्राद क्षेत्रमा एसबीयूका प्रमुख ओलेक्सान्दर नाकोनेच्नीको हत्या भएको हुन सक्छ । युक्रेनी समाचार संस्था इन्टरफ्याक्स–युक्रेनको समाचारअनुसार, नाकोनेच्नीको मृत शरीर शनिवार अबेर राति उनकी पत्नीले फेला पारेकी थिइन् । नाकोनेच्नीले लामो समयदेखि एसबीयूको प्रतिगुप्तचरी तथा भ्रष्टाचारनिरोधी इकाइमा काम गरेका थिए ।
रुसले युक्रेनको राजधानीमा नै शीर्ष अधिकारीको सफाया गर्न सक्ने सम्भावना पनि छ । रुसी गुप्तचरहरू युक्रेनमा सक्रिय रहेको खबरहरू आइरहँदा यस्तो सफाया कारवाहीको सम्भाव्यता बलियो बनेको हो । युक्रेनी गुप्तचर निकाय एसबीयूलाई नै पूरै सफाया गर्ने कारवाही समेत रुसले चलाउन सक्छ ।
जे होस्, दारिया डुगिनाको हत्याले रुस–युक्रेन द्वन्द्वलाई अन्त्य गर्न भइरहेका प्रयासलाई खलबल्याउने उद्देश्य लिएको आभास मिल्छ । राजधानी मस्कोमै यो हत्या गरेर रुस सरकारलाई हतोत्साहित पार्न खोजिएको देखिन्छ ।
तर यसले रुसलाई विचलित बनाउने भन्दा पनि सैन्य कारवाहीलाई तार्किक निष्कर्षमा पुर्याउन योगदान गर्ने सम्भावना छ । पश्चिमले हात नउठाउञ्जेलसम्म रुसले युक्रेनमा सैन्य कारवाही जारी राख्नेछ ।
पढ्नुहोस् यो पनि: