
रूपन्देहीको एक चर्चमा मृत व्यक्तिलाई जीवित बनाएको भिडियो सार्वजनिक भएपछि त्यसको वास्तविकताबारे प्रहरीले अनुसन्धान थालेको छ । येशु ख्रिस्टले मृत व्यक्तिलाई जीवित गराइएको भन्दै भ्रमपूर्ण भिडियो सामाजिक सञ्चाजमा पोष्ट गरिएपछि प्रहरीले त्यसबारेमा छानबिन थालेको हो ।
बुटवलको होली ‘क्याभलरी’ चर्चका पास्टर राजेन्द्र गोतामेले एक मृत महिलालाई जीवित गराएको भन्दै सामाजिक सञ्जालमा भ्रामक भिडियो यतिबेला ‘भाइरल’ भइरहेको छ । कुनै धर्मप्रति मानिसलाई आकर्षित गर्ने नाममा भ्रामक प्रचार गर्नु दण्डनीय हो ।
भिडियो भाइरल भएपछि जिल्ला प्रशासन कार्यालय, रूपन्देहीले अनुसन्धान र आवश्यक कारबाही थालेको छ । सो भिडियो विवेक सत्याल नामको फेसबुक अकाउन्टबाट पोस्ट भएको छ । भिडियोमा एक महिला सुतिरहेकी हुन्छिन् । उनी मृत भएको बताइन्छ । पास्टरले केही मन्त्र उच्चारण गर्छन् । केहीबेरमा मृत भनिएकी महिला चटपटाउन थाल्छिन् । उनी उठ्न खोज्छिन् । पास्टरले उनलाई हातमा तानेर उठाउँछन् ।
उठेपछि उनी पुनर्जीवित भएको भन्दै त्यहाँ उपस्थितले ताली बजाउँछन् । अरूले ताली बजाएपछि उनी पनि ताली बजाउँछिन् । पास्टर भनिएका गोतामेले येशुको प्रभावले महिला पुनर्जीवित गराएको भन्दै येशुलाई धन्यवाद दिन आग्रह गर्छन् । गोतामेसँगै वरिपरि केही महिला तथा पुरुषहरूसमेत मन्त्रोच्चारण गरेको भिडियोमा देखिन्छ ।
भिडियोमा मृत भनिएकी महिला उठेपछि उनकी सासूलाई अगाडि बोलाएर विभिन्न अस्पताल लगेर उपचार गर्दा पनि निको नभएको भन्न लगाइएको छ । सासू भनिएकी ती वृद्धाले एम्बुलेन्समा राखेर काठमाडौं लैजादासमेत निको नभएको भनेकी छन् ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी, भरतमणी पाण्डेले यस्ता कार्य कोही-कसैले पनि गर्नु दण्डनीय भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका इन्पेक्टर श्याम अर्यालले भिडियोमा देखिएको पास्टर राजेन्द्र गोतामेलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जानकारी दिएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ स्थायी घर भएका राजेन्द्र बुटवल बस्दै आएका छन् । उनले विभिन्न ठाउँमा उपचार गर्दा पनि निको नभएकी लम्जुङकी एक महिलालाई निको होस् भनेर प्रभु येशुसँग प्रार्थना गरेको प्रहरीलाई बताएका छन् । उनले मृत्यु भएर पुनर्जीवित भएको भन्नेबारे नभनिएको प्रहरीलाई बताएका छन् ।