
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन गर्न निर्देशन दिएका छन् । उनले फोहर व्यवस्थापनमा सहभागी निजी कम्पनीलाई एक हप्ताभित्र उपत्यकाका सबै फोहर व्यवस्थापन गरिसक्न निर्देशन दिएका हुन् ।
काठमाडौंका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२ सै वडामा लागू गरिएको छ । हाल काठमाडौंको फोहर व्यवस्थापन गर्ने स्थानमा विसर्जनको काम भइरहेको भए पनि निजी कम्पनी सहभागी भएका स्थानमा फोहर उठ्ने सुरसार नै नभएपछि मेयर बालेनले निजीलाई आगामी एक हप्ताभित्र फोहर बञ्चरेडाँडा लैजानका लागि निर्देशन दिएका हुन् ।
उपत्यकामा क्षेत्र छुट्याएर महानगर र निजी क्षेत्रले फोहर उठाउँदै आएका छन् । फोहर उठाउन नागरिकबाट पैसासमेत असुल गर्ने गरिएको छ । निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमितरूपमा फोहर व्यवस्थापन हुन नसकेको आरोप छ । आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई काठमाडौं महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ ।
काठमाडौं महानगरपालिका एक्लैले व्यवस्थापन गर्दै आएको स्थानमा गत मंगलवारदेखि नियमितरूपमा उपत्यकाको फोहर व्यवस्थापन गर्न थालेसँगै कलंकी, कालीमाटी, बल्खु, टेकुलगायतका स्थानको फोहरको अन्तिम व्यवस्थापनको काम सकिएको छ भने सडक सफा भएका छन् । फोहर व्यवस्थापनकै कारण दुई महिनादेखि बन्द रहेको कालीमाटी तरकारी बजारको मुख्य प्रवेशद्वार सञ्चालनमा आएको छ ।
लामो समयदेखि काठमाडौंका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसक्दा सडक, चोकमा थुपारिएको फोहरको डंगुरले दैनिकीमा नै समस्या भएको थियो । कालीमाटी तरकारी बजार प्रवेश गर्ने स्थानमा फोहरका कारण आवतजावत बन्द थियो ।
दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चार बुँदे सहमतिपछि बिहीवारदेखि साविकबमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो ।
साविकबमोजिम फोहर व्यवस्थापनका लागि स्थानीयले अवरोध नगरे, पानी परेर बाटो बन्द नभए आगामी एक सातामा यसअघि थुप्रिएको सबै फोहर अन्तिम व्यवस्थापन स्थलसम्म लगिने काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।
हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिकटन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी काठमाडौं महानगरपालिकाको ५०० मेट्रिकटन रहेको छ । यसअघि पनि लामो समय फोहर जमा भएर बसेको हुनाले अहिले दैनिक ३०० गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् । रासस