
नेपालमा प्रतिबन्धित वनएक्स बेट एप्लिकेसनद्वारा पैसाको हारजित हुने गरी सट्टाबाजी खेल खेल्ने र खेलाउने कार्यमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिकाका विभिन्न स्थानमा अनधिकृत रूपमा अनलाइन गेमिङमार्फत खेल खेलाएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालकहरू दमक नगरपालिका–८ ठेगाना भएका २५ वर्षीय सतप्रकाश साह, सोही नगरपालिका–७ ठेगाना भएका २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियो सञ्चालक कमल गाउँपालिका–२ ठेगाना भएका ३० वर्षीय अरूण कार्की र ब्रिटिस आर्मी ट्रेनिङ सेन्टर दमकका सञ्चालक दमक नगरपालिका–८ ठेगाना भएका ३३ वर्षीय राजु लिम्बू रहेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरूले वनएक्स बेट एप्लिकेसनद्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट एनसेलको सिम प्रयोग गरी ईसेवामार्फत रकम कारोबार गर्ने गरेको थिए ।
प्रहरीका अनुसार कन्सल्टेन्सीमा आउने विद्यार्थीहरूको कागजात प्रयोगको लागि विभिन्न सरकारी कार्यालय तथा जनप्रतिनिधिहरूको छाप समेत बनाई सरकारी कार्यालयको नक्कली पत्र र एसईईको प्राप्तांकसमेत परिवर्तन गर्ने गरिएको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आरआईटी शाखा, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीमध्ये सतप्रकाश साहको साथबाट २ सय ४४ थान एनसेलका सिम, विभिन्न कम्पनीका ९ थान मोबाइल, २ थान ल्यापटप, राजु श्रेष्ठको साथबाट ८० थान एनसेलका सिम, १ थान मोवाइल, १ थान सिपियू, १ थान ल्यापटप, ४ थान स्ट्याम्प बरामद गरेको छ । त्यस्तै अरूण कार्कीको फोटो स्टुडियोबाट बिभिन्न कम्पनीका ९ थान मोबाइल, १ थान ल्यापटप तथा ५ थान स्ट्याम्प प्रहरीले बरामद गरेको छ ।
उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका कसूर र लिखत सम्बन्धित कसूरअन्तर्गत जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।