२४ असार २०८३, बुधबार

गृहमन्त्री खाँणले भने – विप्लव नेकपाका नेता–कार्यकर्ता रिहाइका लागि प्रक्रिया अघि बढिसक्यो

गृहमन्त्री खाँणले भने – विप्लव नेकपाका नेता–कार्यकर्ता रिहाइका लागि प्रक्रिया अघि बढिसक्यो
फाइल फोटो

गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

गृह मन्त्रालयमा सोमवार कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्मबहादुर खाती सहितको पत्रकार सम्मेलनमा उनले यसअघिको सरकारले नेकपासँग २०७७ फागुन २० गते गरेको ३ बुँदे सम्झौता कार्यान्वयनमा गइसकेको र केही प्रक्रियामा रहेको जानकारी दिए ।

उनले नेपाल सरकारले विगतदेखि नै राजनीतिक समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्दै आएको उल्लेख गर्दै नेकपासँगको सहमति कार्यान्वयन गर्न सरकार मातहतका निकायले काम गरिरहेको अवगत गराए । गिरफ्तार नेता कार्यकर्ता तथा विभिन्न मुद्दा लगाइएकाको सम्बन्धमा संविधान र कानूनअनुसार रिहा गर्ने फिर्ता लिने प्रक्रिया अघि बढेको मन्त्री खाँणले बताए ।

वर्तमान सरकार बनेदेखि नै चन्द नेतृत्वको नेकपासँग भएको सम्झौता कार्यान्वयनका लागि शीर्ष तहमा वार्ता र छलफल भइरहेको बताउँदै गृहमन्त्री खाँणले सहमति कार्यान्वयनका लागि गृह मन्त्रालय, कानून मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालय एवं मातहतका कार्यालय निरन्तर प्रयत्नशील रहेको बताए ।

कार्यक्रममा कानूनमन्त्री कोइरालाले सरकारले नेकपासँगको सम्झौता कार्यान्वयन गर्न प्रतिबन्ध हटाउनुका साथै नेता कार्यकर्ता रिहाइका लागि प्रक्रिया अघि बढाएको बताए । उनले सरकारले यसअघि गरेको ३ बुँदे सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए ।

मन्त्री कोइरालाले नेकपाका नेताहरूविरुद्ध देशभर विभिन्न ६० जिल्लामा ६१० मुद्दा दर्ता भएकामा ५२३ मुद्दा फछ्र्यौट भएको र ८७ फछ्र्यौटका क्रममा रहेको बताए ।

महान्यायाधिवक्ता खातीले सरकार र नेकपाबीचको सहमति कार्यान्वयन भइरहेको बताउँदै संविधान र कानूनबमोजिम मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढेको जानकारी दिए । नेताहरू विरुद्धका मुद्दाका सन्दर्भमा पुनरावेदन नलाग्ने गरी निर्णय भएको समेत उनले जानकारी गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्