०२ असार २०८३, मंगलबार

मेलम्चीका बाढी प्रभावितलाई अझै सास्ती

मेलम्चीका बाढी प्रभावितलाई अझै सास्ती
फाइल फोटो

मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदा समेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दीगो हिसाबले हुन सकेको छैन ।

यसले मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितले सास्ती खेप्न बाध्य छन् ।

मेलम्ची र इन्द्रावतीमा गत वर्ष असार १ गते र साउन १६ गते आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, खेतीयोग्य जमिन, पुलपुलेसा, सडक, विद्युत्लगायत विभिन्न संरचनामा क्षति पुग्यो । यसले गर्दा खोला वारपार गर्न अहिले यस भेगका नागरिकलाई ठूलो समस्या छ ।

बाढी आएको यतिका समय बितिसक्दा समेत दीगो हिसाबले कुनै पनि काम नहुँदा गुनासो गर्छन् मेलम्चीका स्थानीय । पुल नहुँदा गर्भवती, बिरामीलाई धेरै समस्या रहेको पाँचपोखरी भोताङका निमा तामाङले बताइन् ।

गत वर्ष पनि नगरपालिकाको सहयोग र नगर उद्योग वाणिज्य संघको नेतृत्वमा अस्थायीरूपमा ह्युमपाइप हालेर यातायातका साधन आवतजावतमा सहज बनाइएको थियो । यस वर्ष पनि दशैंअगावै पुनः ह्युमपाइप हाल्नुपर्ने बजारवासीको माग छ ।

मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर धितालले अस्थायी संरचनाभन्दा पनि स्थायीरूपमै यस्ता समस्याको समाधान खोज्नुपर्ने बताए ।

मेलम्ची नगर पालिकाले पनि स्थायी संरचना बनाउन प्रदेश र संघ सरकारको पटक–पटक ध्यानाकर्षण गराएको जनाएको छ । तत्कालका लागि ह्युमपाइप नै हाले पनि बेलिब्रिज वा पक्की पुलका लागि पहल भइरहेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए । बाढी आएको केही समयपछि तत्कालीन प्रधानमन्त्री, विभागीय मन्त्रीदेखि राजनीतिक दलका उच्चपदस्त व्यक्तिले विभिन्न प्रतिबद्धता र आश्वासन दिए पनि अहिलेसम्म काम हुनसकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्