
भारतको तेलंगाना राज्यका भाजपा विधायक टी राजा सिंहलाई मुसलमानहरूका पैगम्बर मोहम्मदविरुद्ध अशोभनीय टिप्पणी गरेको आरोपमा पक्राउ गरिएको छ ।
हैदराबादमा सोमवार राति उनका विरुद्ध व्यापक प्रदर्शन भएपछि मंगलवार पक्राउ गरिएको हो ।
उनका विरुद्ध भारतीय दण्ड संहिताका विभिन्न दफाबमोजिमका आरोप लगाइएका छन् । भारतीय जनता पार्टीले उनी पक्राउ परेलगत्तै पार्टीबाट निष्काशन गरेको छ ।
‘मुसलमानलाई घृणा गर्नु भाजपाको आधिकारिक नीति हो ?’ एआईएमआईएम पार्टीका प्रमुख असदुद्दीन ओवैसीले सोधे । ‘नुपूर शर्माको बयानले नपुगेर अब उनीहरू विधायकलाई यस्ता कुरा गर्न लगाउँदैछन् ? मानिसहरू रिसाएका छन् । उनीहरूको आँखामा आँसु छ । पैगम्बर मोहम्मदका विषयमा उनीहरू किन यस्तो कुरा भनिरहेका छन् ? भाजपाले यस्ता काम रोक्नुपर्छ । तपाईंहरू पैगम्बरलाई कति घृणा गर्नुहुन्छ सबैले थाहा पाइसके ।’
टी राजा सिंहले १० मिनेटको एक भिडियो सार्वजनिक गरी पैगम्बर मोहम्मदका विषयमा अपमानजनक टिप्पणी गरेको बताइएको छ । कमेडियन मुनव्वर फारुकीलाई व्यंग्य गर्दै बनाएको भिडियोमा उनले मोहम्मदको चर्चा गरेका हुन् ।
फारुकीले हिन्दू देवीदेवताका बारेमा अपमानजनक टिप्पणी गर्दै कमेडी गरेकाले जवाफमा आफूले पनि कमेडी भिडियो बनाएको उनले बताए । राम र सीतालाई अपमान गर्दा कमेडी हुने तर अर्को समुदायले श्रद्धा गर्ने पात्रमाथि कमेडी गर्न किन नपाइने भनी उनले प्रश्न गरेका छन् ।