
अंक अक्षर लेख्न, पढ्न र चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटकी संगिता छिनालको अहिले आत्मविश्वास बढेको छ ।
उज्यालो वैकल्पिक विद्यालयको १० कक्षामा पढ्ने संगीतालाई शिक्षा हाँसिल गरेपछि शहरका चोकमा गएर ठाउँ नचिन्दा अल्मलिनुपर्ने, मोबाइल चलाउन अरुको सहायता लिनुपर्ने समस्या हटेको छ ।
‘बिहे गर्दा १ कक्षासम्म मात्र पढेको थिएँ, एबीसी लेख्न पनि जानेको थिइनँ । कुनै शहरमा जाँदा कहाँ आइपुगेको छु भन्ने बुझ्न अरुलाई सोध्नुपर्दथ्यो । निकै समस्या हुन्थ्यो,’ उनले भने, ‘अंग्रेजीबाट नाम लेख्ने र लेखेको कुरा पढ्न सक्ने भएको छु । अरुले बोलेको बुझ्न सक्छु । पहिलेभन्दा अहिले धेरै सजिलो भएको र खुशी लागेको छ ।’
संगीता जस्तै विद्यालय जाने उमेरमा पढ्न नपाएका र बीचैमा पढाइ छाडेकाहरूका लागि बेनीको उज्यालो वैकल्पिक विद्यालय एसईई तहसम्मको शिक्षा हाँसिल गर्ने थलो बनेको छ । ८ वर्षअघि स्थापना भएको विद्यालयमा हालसम्म १०० जनाभन्दा बढीले पढेका छन् ।
९ जनाले पछिल्लो २ वर्षमा एसईई उत्तीर्ण गरेका छन् । हाल विभिन्न कक्षामा पढ्ने ४० जना सबै महिला छन् । भर्ना भएका केही विद्यार्थीले लेखपढ गर्न जानेपछि पढाइलाई निरन्तरता दिएनन् । घरायसी कामधन्दा सकेर झोलाभरी कापी किताब बोकेर बिहान ११ बजे विद्यालय आउने आमाहरू दिउँसो ३ बजे घर फर्कन्छन् ।
‘खेती किसान, घरको व्यवहार, घाँस, दाउरा गर्ने चलन थियो । इच्छा भएर पनि पढ्न पाइएन,’ १० कक्षामा पढ्ने ५० वर्षीय डिलकुमारी पुनले भनिन्, ‘बालबच्चाले पढेर सके । अहिले फुर्सद मिल्यो । उमेर ढल्किएकाले गाह्रो भए पनि पाएको अवसर सदुपयोग गरेर एसईई उत्तीर्ण गर्ने लक्ष्य राखेकी छु ।’
भर्ना हुन आउने विद्यार्थीको क्षमता पहिचान गरी कक्षामा राख्ने र पढाउने गरिएको छ । तत्कालीन शिक्षा कार्यालय मार्फत बेनी सामुदायिक माविलाई मातृ विद्यालय मानेर स्थापना भई समुदाय स्तरबाट विद्यालय सञ्चालन गरिएको हो ।
७ जना शिक्षकहरूको तलबभत्ता बेनी नगरपालिकाले उपलब्ध गराउने यस विद्यालय सञ्चालनमा स्थानीयवासी, विभिन्न संघसंस्था र प्रवासीहरुले पनि सहयोग गरेका व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष राजेश शाक्यले बताए ।
‘१६ वर्षभन्दा बढी उमेरका बिचैमा पढाइ छाडेकाहरूका लागि स्थानीय युवाहरूको अग्रसरतामा विद्यालय सञ्चालन गरेका हौं,’ उनले भने, ‘बेनी सामुदायिक माविलाई मातृ विद्यालय बनाएका छौं । विज्ञान र कम्प्युटर ल्याब स्थापना गर्न सामाजिक विकास मन्त्रालयले सहयोग गरेको थियो ।’
सामाजिक विकास कार्यालयको भवनमा सञ्चालन भएको विद्यालयमा आफ्नै पूर्वाधार, दीगो आर्थिक स्रोतको अभाव तथा शिक्षकहरूलाई तालिमको आवश्यकता देखिन्छ । शुरूआती चरणमा बेनी पुस्तकालयको भवनमा कोठा भाडामा लिएर कक्षा सञ्चालन गरिएको विद्यालय ३ वर्षअघि तत्कालीन महिला तथा बालबालिका कार्यालयको खाली भवनमा सारिएको थियो ।